पूर्व गभर्नर डा. विजयनाथ भट्टराईले गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका छन्।
गत चैत ११ गते गठन भएको समितिको हालसम्म एउटा पनि बैठक बस्न सकेको छैन।
अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको थियो। समितिमा भट्टराई सहित राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेल सदस्य छन्।
गभर्नर नियुक्तिमा सत्ता साझेदार राजनीतिक दलहरूबीच सहमति जुट्न सकेको छैन।
केही दिनअघि मात्रै राष्ट्र बैंक भित्रबाटै गभर्नर बनाउने गरी दुई दलका शीर्ष नेताबीच सहमति भएको खबर बाहिरिएको थियो।
तर, गभर्नर छनोटमा अझै गाँठो फुक्न सकेको छैन।
राष्ट्र बैंकमा चैत २४ गतेदेखि गभर्नर पद रिक्त छ। डेपुटी गभर्नर निलम तिम्सिना नै कायममुकायम गभर्नरको जिम्मेवारीमा छिन्।