सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो १८औं वार्षिक उत्सवको अवसरमा घरबारबिहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिइ बसेका करिब १९०० व्यक्तिहरूलाई चैत २० गतेदेखि वैशाख ६ गतेसम्म १८ दिन भोजनको व्यवस्था गरेको छ।
बैंकले आफ्नो १८औं वार्षिकउत्सव आज मनाउँदै छ।
भोटु:इन्दिरा समाज कल्याण संस्थासँगको सहकार्यमा काठमाडौंका जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल, गौशाला लगायतका स्थानमा नदी किनार, सडक छेउमा र पुलमुनी बस्ने घरबारबिहीन मानिसहरूलाई बैंकले भोजन वितरण गरेको हो।
साथै बैंकले वार्षिकोत्सवको अवसरमा चैत २ गतेदेखि वैशाख ५ गतेसम्म ७ वटै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविरहरूको आयोजना गरेको छ।
कोशी प्रदेशको हल्दिबारी र महेन्द्रचोक, मधेश प्रदेशको विद्यापति चोक, बागमती प्रदेशको बुढानीलकण्ठ, गण्डकी प्रदेशको अमरापुरी, लुम्बिनी प्रदेशको हस्पिटललाइन र जीतपुर, कर्णाली प्रदेशको श्रीनगर र दुल्लु, र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा स्वास्थ्य शिविरहरू आयोजना गरेको थियो।
यी स्वास्थ्य शिविरहरूबाट करिब एक हजार सात सय जना बिरामीहरूले लाभ प्राप्त गरेका छन्।
हरेक वर्ष बैंकले आफ्नो वार्षिकउत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरू गर्नुका साथै सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ।
आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी गराएको छ।
सिटिजन्स बैंकले देशैभरी २०० वटा शाखा, १६८ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ इकाइहरूबाट १८ लाख ७९ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।