सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा डिजिटल बैंकिङ कारोबारमा आकर्षक छुटको योजनाहरू सार्वजनिक गरेको छ।
वैशाख ७ गतेको वार्षिकोत्सवलाई मध्यनजर गर्दै बैंकले वैशाख १ गतेदेखि ३१ गतेसम्म १ महिनाको लागि लागु हुने गरी विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्याक, लगायतका योजनाहरू सार्वजनिक गरेको हो।
सो योजना अन्तर्गत डेबिट कार्ड प्रयोगकर्ताहरूले पहिलो पटक पस मेसिन वा अनलाइन मार्फत एक हजार रूपैयाँ वा बढीको कारोबार गर्दा १८ प्रतिशत वा बढीमा १८० रूपैयाँ क्यास ब्याक दिइने छ।
यसैगरी सिटिजन्स मोबाइल बैंकिङ मार्फत क्युरआर कोड स्क्यान गरी भुक्तानी गर्ने ग्राहकहरूको लागि पनि पाँच सय रूपैयाँ वा बढीको कारोबार गर्दा १८ प्रतिशत वा बढिमा १८० रूपैयाँ क्यास ब्याक प्रदान गरिने छ।
साथै फोन पे मर्चेन्टले आफ्नो व्यवसायिक कारोबार रकम क्युआर मार्फत प्राप्त गर्दा प्रत्येक दिन एक जना मर्चेन्टलाई एक हजार आठ सय रूपैयाँसम्म क्यासब्याक प्रदान गरिने छ।
साथै बैंकले योजना अवधिभरमा इ-कम कार्ड लिई पहिलो पटक टप–अप गर्दा सो टप–अपमा शुल्क नलाग्ने, निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था, स्मार्ट बचत खाता खोली पहिलो पटक मोबाइल बैंकिङ मार्फत मोबाइलमा रिचार्ज गर्दा १५ प्रतिशत वा बढीमा ५० रूपैयाँ क्यासब्याक पाउनेछन्।
साथै बैंकको एक मोबाइल बैंकिङ ग्राहकलाई निःशुल्क माउन्टेन फ्लाइट टिकट प्राप्त हुनेछ।
वार्षिकोत्सवकै उपलक्ष्यमा वैशाख महिनाभर भर्चुअल क्रेडिट कार्ड जारी गर्दा पहिलो वर्षको जारी शुल्कमा पनि ५० प्रतिशत छुटको व्यवस्था रहेको छ।
डिजिटल कारोबारमा प्रदान गरिने यस्ता आकर्षक छुट योजनाहरूले आम सर्वसाधारणहरू नगद रहित कारोबारमा अभ्यस्त हुने र समग्र डिजिटल बैंकिङलाई वढवा मिल्ने विश्वास बैंकले लिएको छ।
सिटिजन्स बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ इकाइहरूबाट १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।