मौसममा आएको परिवर्तनको कारण दक्षिण एसियाली राष्ट्रहरूमा ३५ वर्षमा देखा परेको खडेरीको कारण ७५ करोड मानिस प्रभावित भएको साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एण्ड इन्भाइरोमेन्ट (सावती)ले बताएको छ।
काठमाडौंमा चलिरहेको १५औं दक्षिण एसियाली आर्थिक सम्मेलनमा सावतीका अध्यक्ष डा. रत्नाकर अधिकारीले यस्तो बताएका हुन्।
भुटान, नेपाल, भारत र बंगलादेशको उदाहरण दिँदै अधिकारीले पछिल्लो समय दक्षिण एसियाली राष्ट्रहरूले हरित समतामूलक रूपान्तरण (ग्रीन इक्विटेबल ट्रान्सफरमेसन) मा प्रगति गरिरहेको बताए।
यसबाट यी मुलुकले लाभ लिन सक्ने अवस्था समेत बनिरहेको उनले बताए।
'भुटानले कार्वन उत्सर्जन शून्य गरेकै कारण उसले कार्वन उत्सर्जन भइरहेका मुलुकहरूको तुलनामा अन्तर्राष्ट्रिय बजारमा पहुँच पाएको छ,' अधिकारीले थपे, 'नेपालले पछिल्लो समय नर्वेलाई समेत उछिन्दै सस्तोमा विद्युतीय सवारी चलाउन सकिने मुलुकमा माथिल्लो स्तरमा उक्लिएको छ।'
त्यस्तै, हालै मात्र भारतले जैविक ऊर्जामा रहेको परनिर्भरता घटाउँदै लगेको छ। अहिले जैविक ऊर्जामा भारतको निर्भरता ५६ प्रतिशतमा सीमित भएको छ भने सन् २०३० सम्म भारतले ऊर्जा खपतमा स्वास्थ्य ऊर्जाको प्रयोग बढाएर ५० प्रतिशत पुर्याउने भएको छ।
बंगलादेशले पनि पछिल्लो समय विद्युतीय सामग्रीबाट उत्पन्न हुने फोहर कम गर्न यस्ता समानको बिक्री गर्ने इकमर्श प्लाटफर्म बनाएको छ।
जसबाट मासिक ८ हजारसम्म सेकेण्ड ह्याण्ड विद्युतीय सामग्रीको बिक्री भइरहेको अधिकारीले बताए।
बढ्दो प्राकृतिक विपत्तिको कारण सन् २०५० मा मात्रै दक्षिण एसियाली मुलुकहरूको कुल गाहस्थ्य उत्पादन (जिडिपी) पाँच खर्ब १८ अर्ब डलर बराबरले संकुचित हुने बताइएको छ।
त्यस्तै, यस्ता विपत्ति लगायतको सामना गर्न यी मुलुकहरूलाई सन् २०३० सम्म १७ खर्ब ५८ अर्ब डलर वित्तीय स्रोत आवश्यक पर्ने बताइएको छ।