एनएलजी इन्स्योरेन्सले आफ्नो कम्पनीको सेयर स्प्लिट गर्न बीमा प्राधिकरणमा पत्राचार गरेको छ।
कम्पनी ऐनको दफा ५६ (२) को व्यवस्था अनुसार कम्पनीको नियमावली अनुसार सबै वा केही सेयरलाई अंकित मूल्यभन्दा घटी वा बढीको मूल्यको सेयरमा एकीकृत वा विभाजन गर्न सक्ने व्यवस्था अनुसार यस्तो आग्रह गरेको हो।
कम्पनीले यस सम्बन्धमा प्राधिकरणको प्रक्रिया के कसो हुने हो जानकारी गराइदिन पत्राचार गरेको छ।
प्राधिकरण अहिले अध्यक्ष बिहिन भएकोले तत्काल यसमा कुनै निर्णय नहुने स्रोतले बताएको छ।
'अहिले प्राधिकरणमा अध्यक्ष हुनुहुन्न, त्यसैले अहिले यो विषयमा केही गर्न सकिने अवस्था छैन,' स्रोतले भन्यो, 'अध्यक्षको नियुक्ति पछि नै केही होला।'
प्राधिकरणका अध्यक्ष सूर्यबहादुर सिलवालमाथि हालै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भष्ट्राचारको आरोप लागेसँगै पदमुक्त भएका छन्।
२०७७ माघ १९ गते प्राधिकरणको अध्यक्षमा नियुक्त सिलवाल चार वर्षे कार्यकालको अन्तिम समयमा पदमुक्त भएका हुन्।
एनएलजी इन्स्योरेन्स कम्पनीभन्दा अघि पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सेयर स्प्लिटको लागि आवेदन दिएको थियो।
'तत्कालीन समयमा पनि सञ्चालक समितिको बैठकमा सेयर स्प्लिट विषयमा दुई राय आएको थियो,' प्राधिकरण स्रोतले भन्यो, 'एक थरीले यसले धेरै जनमानसमा सेयर पुग्ने विश्लेषण गरेका थिए भने अर्को पक्षले सेयरमा चलखेल हुनसक्ने आशंका जनाएको थियो।'
यही कारण सो समय नेपाल लाइफले सेयर स्प्लिट गर्न पाएको थिएन।
एनएलजीको हाल प्रतिकित्ता अंकित मूल्य एक सय रूपैयाँ छ। सेयर बजारमा भने कम्पनीको सेयर ९ सय २८ रूपैयाँमा कारोबार भइरहेको छ।
हालै हकप्रद सेयर निष्कासन गरेको यस कम्पनीको चुक्तापुँजी २ अर्ब ५० करोड रूपैयाँ पुगेको छ। हाल कम्पनीको सेयर संख्या २ करोड ५० लाख छ।
सेयर स्प्लिट गरेर कम्पनीले सेयर संख्या बढाउने उद्देश्य राखेको छ। सेयर स्प्लिट गर्दा चुक्ता पुँजीमा फेरबदल नहुने गरेर सेयर संख्या मात्रै थपिन्छ।
विश्वका विभिन्न मुलुकमा सेयर स्प्लिट गर्ने अभ्यास भने छ। भारतको एजिआई इन्फ्रा कम्पनीले भारू १० अंकित मूल्य रहेको सेयरलाई प्रतिकित्ता पाँच भारू हुने गरेर टुक्रार्याउ हालै मात्र निवेदन दिएको छ।
सेयर टुक्रार्याउनुका आफ्नै फाइदा बेफाइदा पनि छन्। सेयर टुक्रार्याउदा सेयर संख्या बढ्ने भएकोले बजारमा यसको धेरै कारोबार हुने वातावरण हुन्छ। यसले तत्काललाई कम्पनीको सेयरको मूल्य घट्न पनि सक्छ।
त्यस्तै, स्प्लिटपछि कम्पनीले दिने लाभांश दर फेरबदल नहुने भए पनि पाउनेले भने कम लाभांश पाउँन सक्छ। जस्तो, प्रतिकित्ता एक सय रूपैयाँ भएको कम्पनीले २० प्रतिशत नगद लाभांश दिँदा एक कित्ता सेयरमा २० रूपैयाँ लाभांश पाउँछ।
तर, यदि अंकित मूल्य ५० रूपैयाँको सेयर भएमा एक कित्तामा १० रूपैयाँ लाभांश प्राप्त गर्छ।