पछिल्लो समय सेयर बजारमा नयाँ रेकर्ड बनिरहेको छ।
बुधबार मात्रै सेयर बजारमा ऐतिहासिक कारोबार भयो। नेप्से परिसूचक पनि करिब २९ महिनाकै उच्च विन्दुमा आइपुगेको छ।
नेप्सेमा एकैदिन २१ अर्ब ९१ करोड रूपैयाँको सेयर कारोबारको रेकर्ड बनेको हो। भने २९ महिनापछि नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा आइपुगेको छ।
असारको मध्यमा दुई ठूला प्रमुख दल मिलेर सरकार बनेसँगै उकालो लगेको बजारलाई राष्ट्र बैंकले लिएको लचिलो नीतिले समेत प्रभाव पारेको हो।
यही कारण सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेको हो। असार १७ गते यता मात्रै नेप्से ७ सय २ अंकले बढेको छ।
यस्तोमा सेयर कारोबार गर्नेहरूको संख्यामा पनि वृद्धि भइरहेको छ।
'अहिले कारोबारमा आउनेमध्ये ९० प्रतिशत नयाँ लगानीकर्ता छन्,' ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष प्रियराज रेग्मीले भने, ‘ब्रोकर परिवर्तनको कारण हो की? अन्य पनि यस्तो प्रवृत्ति छ कि तर लगानीकर्ताहरू नयाँ–नयाँ देखिएका छन्।'
विशेषगरी, बीचमा बजारबाटै बाहिरिएका, निष्क्रिय भएर बसेका र केही नयाँ लगानीकर्ताहरू नै पनि थपिएको दाबी अर्का ब्रोकर नरेन्द्र सिजापतिको छ।
'प्राय हरेक पटक बजार उच्च विन्दु आसपासमा आउँदा नयाँ मान्छेहरू बजारमा भित्रिन्छन्, यसपटक पनि त्यस्तो प्रवृत्ति छ,' सिजापति भन्छन्, 'केही बीचमा हराएका पनि आउँछन्।'
गत असार १५ गते अघिसम्म दैनिक ६÷७ अर्ब रूपैयाँको कारोबार भइरहेकोमा बढेर २० अर्ब माथिको कारोबार हुन थाल्नुले पनि यही संकेत गर्छ। त्यसबाहेक, बजारमा लगानीकर्ता थपिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)को तथ्यांकहरूले पनि देखाउँछ।
नेप्सेको तथ्यांक अनुसार गत चैतदेखि असारसम्मको अवधिमा मात्रै बजारमा ६२ हजार २७५ ले बढेका छन्। गत चैतमा ३७ लाख २० हजार लगानीकर्ता रहेकामा यो संख्या बढेर ३७ लाख ८२ हजार पुगेको हो।
सक्रिय लगानीकर्ताको संख्या पनि यही दरमा बढेको छ। चैतमा २० लाख ५३ हजार यस्ता सक्रिय लगानीकर्ता रहेकोमा वैशाखमा यो संख्या बढेर २१ लाख १६ हजार पुगेको छ।
पहिले प्राथमिक बजारमा सेयर भर्ने र निष्क्रिय हुनेहरू पनि यो समय दोस्रो बजारका दैनिक कारोबारी (ट्रेडर्स) बन्ने प्रवृत्ति पनि देखिएको रेग्मी बताउँछन्।
नेप्सेको तथ्यांकले पनि यही देखाउँछ। पहिले ब्रोकरहरूलाई फोन लगायतको माध्यमबाट सेयर किनबेचको आदेश दिने (अफलाइन) लगानीकर्ताको संख्या यो अवधिमा १ सय ३६ ले घटेको छ।
तर, अनलाइन कारोबार गर्ने कुल लगानीकर्ताको संख्या ६२ हजार ४११ ले बढेर २२ लाख ५८ हजार पुगेको छ।