सेयर बजार परिसूचकले २८ सयको विन्दुमा प्रतिरोध परीक्षण गरेसँगै बिहीबार नेप्सेमा सामान्य करेक्सन आएको छ।
कारोबार अवधिमा एक पटक २८ सयको विन्दु पार गरेको नेप्से त्यो विन्दुमा अडिन सकेन। तर, बजार बन्द हुने समयमा नेप्से पुन बढ्ने प्रयासमा नै देखियो।
करिब १८ अंकसम्म घटिसकेको नेप्से बजार बन्द हुँदा मात्रै ५.२९ अंकले घटेर २७५५ विन्दुमा थामिएको छ।
कारोबार रकम भने यसदिन पनि उच्च नै छ।
बिहीबार २१ अर्ब ७१ करोड रूपैयाँको सेयर कारोबार भएको हो। बुधबार बजारमा हालसम्म कै उच्च रकमको कारोबार भएको थियो। बुधबार २१ अर्ब ९१ करोड रूपैयाँको सेयर कारोबार भएको थियो।
यो रकम अघिल्लो दिनको तुलनामा २० करोड रूपैयाँ कमी आएको हो।
अहिले लगानीकर्ताहरू समूह परिवर्तन गर्दै लगानी रणनीति बनाइरहेका छन्। केही समय बढेर वाणिज्य बैंकहरूको वृद्धि लगभग थामिएको छ। बिहीबार भने जीवन र निर्जीवन बीमा कम्पनीहरूको सेयर मूल्यमा उच्च वृद्धि भएको छ।
यस्ता कम्पनीहरूले तिरेको आयकर र मूल्य अभिवृद्धि कर अघिल्लो पटकभन्दा निकै बढेको छ। यसले यस्ता कम्पनीहरूको आम्दानीमा ठूलो सुधार भएको मानिएको छ।
बैंक तथा वित्तीय संस्था सहित बीमा कम्पनीहरूले गत आर्थिक वर्ष अन्त्यमा बुझाएको कर अघिल्लो वर्षकोभन्दा २५ प्रतिशतले धेरै छ। बैंकहरूको कारोबारमा ठूलो सुधार नभए पनि बीमामा भएको सुधारले यस्तो कर धेरै संकलन भएको हो।
अघिल्लो आर्थिक वर्षमा ८९ अर्ब बुझाएकोमा गत आर्थिक वर्षमा १ खर्ब ११ अर्ब बुझाएका हुन्। यो विवरण ठूलो कारोबार गर्ने कम्पनीहरूको भएकाले यसमा सबै कम्पनी भने नपरेका हुन सक्छन्।
यस दिन ३३२ वटा धितोपत्रको पाँच करोड १३ लाख २१ हजार ६२९ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ वटाको घटेको छ। यस्तै, तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन आठ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, नेपाल हाइड्रो डेभलपर्स, शुभम् पावर, सिटी होटल र कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशतका दरले बढेको छ।
पिपुल्स हाइड्रोपावरको मूल्य सर्वाधिक ९.१३ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४३१ रूपैयाँ कायम भएको छ।
यस्तै, १०% प्रभु बैंक डिबेन्चर २०८४ को मूल्य ८.६५ प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार २५ रूपैयाँ कायम भएको छ।।
बिहीबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य ७७० रूपैयाँमा ५९ करोड ७५ लाखको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.२३ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६४४ रूपैयाँमा ४३ करोड ८१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक बढेको छ भने बाँकी ७ समूहको परिसूचक घटेको छ।
यसदिन जीवन बीमा समूहको परिसूचक सर्वाधिक ३.६९ प्रतिशतले बढेको छ भने व्यापार समूहको परिसूचक सर्वाधिक ३.५४ प्रतिशतले घटेको छ।