सोमबार नेप्सेमा करेक्सन आएको छ।
यसदिन नेप्से २०.४६ अंकले घटेर २६६१.०९ विन्दुमा पुगेर बन्द भएको छ।
सोमबार अन्तर दिनको कारोबारमा पटक–पटक २७ सयको विन्दु भेट्दै ओर्लिंदै गरेको नेप्सेमा यो विन्दु प्रतिरोधको रूपमा देखिएको छ।
सोमबार अन्तरदिनको कारोबारमा नेप्से २७ सय ३५ विन्दुसम्म पुगेको थियो।
बजार बढ्दै जाँदा पछिल्लो समय यो थप उचाइमा पुग्ने धेरैको दाबी छ। त्यसैले, २७ सयको विन्दु आसपासमा केही लगानीकर्ताले प्रोफिट बुकिङ थाल्दा आज बजारमा करेक्सन देखिएको हो।
यसदिन कारोबार रकम ३६ महिनाकै उच्च भएको छ।
आज १९ अर्ब ६० करोड रूपैयाँको कारोबार भएको छ। यसअघि २०७८ भदौ ३ गते बजारमा २० अर्ब ४९ करोड रूपैयाँको कारोबार भएको थियो।
आजको कारोबार रकम त्यसयताकै उच्च हो।
आइतबार भने १५ अर्ब ८१ करोड रूपैयाँको कारोबारको सेयर कारोबार भएको थियो।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा तीन अर्ब ७९ करोड रूपैयाँ वृद्धि भएको हो।
यस दिन ३२५ वटा धितोपत्रको चार करोड ७७ लाख ९० हजार ८३७ कित्ता सेयर किनबेच भएको हो।
सोमबार ७० कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ वटाको घटेको छ। यस्तै, चार कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन नेपाल फाइनान्सको सेयर सर्वाधिक ९.७७ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ६२९ रूपैयाँ कायम भएको छ।
यस्तै, मन्दाकिनी हाइड्रोपावरको मूल्य ८.५८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ८१० रूपैयाँ कायम भएको छ।
आरम्भ चौतारी लघुवित्तको मूल्य सर्वाधिक ८.३५ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको मूल्य एक हजार २४७ रूपैयाँ कायम भएको छ।
यस्तै, बोटलर्स नेपाल बालाजुको मूल्य ७.९९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य १९ हजार रूपैयाँ कायम भएको छ।।
सोमबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य ६१६ रूपैयाँमा ६१ करोड १२ लाखको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ४.४१ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा कुमारी बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता २२२ रूपैयाँमा ५५ करोड २२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त र जलविद्युत समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक १.८८ प्रतिशतले बढेको छ भने लघुवित्त समूहको परिसूचक सर्वाधिक ३.७१ प्रतिशतले घटेको छ।