गत असार १७ गते वाणिज्य बैंकहरूको सूचक १०८८ विन्दुमा थियो।
एक महिना नपुग्दै साउन १३ गते यो समूहगत सूचक १५७४ विन्दुमा पुग्यो। यो बीचमा मात्रै यो सूचक करिब पाँच सय अंकले बढ्यो।
यो समूहमा मात्रै दैनिक २२ करोडको कारोबार भइरहेकोमा अहिले बढेर तीन अर्ब ९६ करोड पुग्न थालेको छ।
लामो समय बढ्न नसकेको बैंकिङ समूहले नै नेप्सेको वृद्धिलाई सबैभन्दा धेरै टेवा दिन्छ। किनभने यो समूह एक्लैको सेयर बजारमा हिस्सा करिब २७ प्रतिशत छ।
बजारमा अहिले पनि वाणिज्य बैंकहरूको मूल्य प्रतिकित्ता ३ सय रूपैयाँभन्दा कम नै छ। बजारमा सूचीकृत १९ मध्ये ११ वटा बैंकको मूल्य तीन सय मूल्यभन्दा कम छ। पाँच सय रूपैयाँभन्दा मूल्य माथि हुने वाणिज्य बैंक मात्रै तीन छन्।
यो समूहमा लगानीकर्ता आकर्षित भइरहँदा कुन बैंकको सेयर किन्ने भनेर दुविधा हुन सक्छ। यसको एउटा तरिका आफूभन्दा जान्ने लगानीकर्ताले कुन सेयर किनिरहेका छन् भनेर हेर्ने पनि हो। तर, कसले कुन सेयर किनिरहेका छन् भनेर जान्न सकिदैन।
बजारमा सेयर बजारमै कारोबार गर्ने संस्थाहरू पनि छन्। तिनले कुन सेयर किनेर राखेका छन् भनेर हेर्न भने गाह्रो हुँदैन।
गत असारसम्मको आफ्नो विवरण प्रकाशित गरेका १८ वटा सामूहिक लगानी कोषलाई यस्तो आधार मान्न सकिन्छ।
यी १८ वटामा शुभ लक्ष्मी कोष, प्रभु स्मार्ट, प्रभु सेकेक्ट फण्ड, लक्ष्मी उन्नति, लक्ष्मी भ्यालु, सनराइज फण्ड १, सनराइज फोकस, सनराइज ब्लू चिप छन्।
त्यस्तै, हिमालयन ८०–२०, एसवाईआइएस, एसइफ, एसआइजी एस ३, एसआइजी एस २, एनउमबी सुलभ, एनएमबी सरल, एनएमबी ५०, आरबिबी १ र आरबिबी २ छन्।
सानिमा बैंक
यी सामूहिक लगानी कोषको विवरण हेर्दा सानिमा बैंक सबैभन्दा धेरैको प्राथमिकतामा परेको छ। १८ मध्ये १७ वटासँग यो बैंकको सेयर छ। हाल यो बैंकको ३५१ रूपैयाँमा सेयर कारोबार भइरहेको छ।
एनआइसी एसिया बैंक
यी सामूहिक लगानी कोषको विवरण हेर्दा एनआइसी एसिया बैंक पनि धेरैको प्राथमिकतामा परेको छ। १८ मध्ये १५ वटासँग यो बैंकको सेयर छ। हाल यो बैंकको ५४० रूपैयाँमा सेयर कारोबार भइरहेको छ।
एनएमबी बैंक
यी सामूहिक लगानी कोषको विवरण हेर्दा एनएमबी बैंक प्राथमिकताको आधारमा तेस्रो स्थानमा छ। १८ मध्ये १३ वटासँग यो बैंकको सेयर छ। हाल यो बैंकको २८३ रूपैयाँमा सेयर कारोबार भइरहेको छ।
स्ट्याण्डर्ड, एभरेष्ट र ग्लोबल आइएमई
यी सामूहिक लगानी कोषको विवरण हेर्दा १२ वटासँग स्ट्याण्डर्ड, एभरेष्ट र ग्लोबल आइएमइको सेयर छ। हाल स्ट्याण्डर्ड चार्टर्डको ७०१ रूपैयाँ, एभरेष्टको ६७० रूपैयाँ र ग्लोबल आइएमई बैंकको २६६ रूपैयाँमा सेयर कारोबार भइरहेको छ।
प्रभु, सिद्धार्थ र माछापुच्छ्रे
यी सामूहिक लगानी कोषको विवरण हेर्दा ९ वटासँग प्रभु, सिद्धार्थ र माछापुच्छ्रेको सेयर छ। हाल प्रभुको २३३ रूपैयाँ, सिद्धार्थ ३५५ रूपैयाँ र माछापुच्छ्रे बैंकको २६४ रूपैयाँमा सेयर कारोबार भइरहेको छ।
नेपाल एसबिआई बैंक
यी सामूहिक लगानी कोषमध्ये ८ वटासँग नेपाल एसबिआई बैंकको सेयर छ। हाल यो बैंकको ४४१ रूपैयाँमा सेयर कारोबार भइरहेको छ।
कृषि विकास, सिटिजन्स र नेपाल बैंक
यी सामूहिक लगानी कोषको विवरण हेर्दा ७ वटासँग कृषि विकास, सिटिजन्स र नेपाल बैंकको सेयर छ। हाल कृषि विकासको ३८३ रूपैयाँ, सिटिजन्सको ३५४ रूपैयाँ र नेपाल बैंकको २९३ रूपैयाँमा सेयर कारोबार भइरहेको छ।