आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्य सहित आएको मौद्रिक नीतिले बजारलाई लाभ पुगेको छ। मौद्रिक नीति आएपछिको पहिलो कारोबारमै नेप्सेले १ सय १३ अंक जोडेर २७ सय विन्दुलाई भेट्ने प्रयास गरेको छ।
आइतबार नेप्से २६८१ विन्दुमा आइपुगेको छ। यो २०७८ फागुन ११ यताकै उच्च विन्दुमा आइपुगेको हो। सो समय नेप्से २७२० विन्दुमा थियो। यो करिब २९ महिना यताकै उच्च विन्दुमा छ।
मौद्रिक नीतिले सेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्ने तीन विषयलाई सम्बोधन गरेको छ।
पहिलो, सेयरमा लगानी गर्ने उद्देश्यले स्थापित संस्थागत लगानीकर्ताहरूको लागि यस अघि राखिएको २० करोडसम्मको ऋण लिनसक्ने व्यवस्थालाई खारेज गरेको छ। यसले संस्थागत लगानीको ऋण क्षमता बढ्ने भएको हो।
दोस्रो, मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरूले यस साउनसम्म उठाउने व्याजलाई पनि गत वर्षको वित्तीय विवरणमा गणना गर्न पाउने व्यवस्था गरिदिएको छ। यसले पनि बैंकहरूलाई ब्याज उठाउन थप एक महिना उपलब्ध भएको छ।
तेस्रो, लघुवित्त कम्पनीहरूले समस्यामा परेका ऋणीको कर्जा पुनर्ताकिरीकरण गर्न पाउने र कर्जा ब्याजदर पुनरावलोकन गरिदिने उल्लेख गरेको छ।
यसले लघुवित्त कम्पनीहरूको खराब कर्जामा सुधार आएको देखिने भएको छ। अर्कोतर्फ अहिले ब्याजदरमा सबै खर्च समावेश गर्न नपाएका भनिएका लघुवित्तहरूले यस्तो खर्च समेत राखेर ब्याज लिन पाउने सम्भावना रहने मानिएको छ।
यसबाहेक बैंक तथा वित्तीय संस्थाहरूबाट कजौ प्रवाहमा सहजता ल्याउन गरिएका अन्य व्यवस्थाहरूको लाभ पनि बजारलाई पुग्ने अनुमानमा सेयर बजारमा उछाल आएको हो।
यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
बिहीबार १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार रूपैयाँको कारोबार भएकोमा आइतबार १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार रूपैयाँको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब ६८ करोड रूपैयाँ वृद्धि भएको हो।
यस दिन ३१८ वटा धितोपत्रको चार करोड ३ लाख १४ हजार ५१७ कित्ता सेयर किनबेच भएको हो।
आइतबार १४८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८७ वटाको घटेको छ। यस्तै, आठ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन १२ वाणिज्य बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ।
गणपति लघुवित्तको मूल्य सर्वाधिक ९.३५ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको मूल्य एक हजार ८९० रूपैयाँ कायम भएको छ।
यस्तै, लक्ष्मी लघुवित्तको मूल्य ४.६० प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ३४९ रूपैयाँ कायम भएको छ।।
आइतबार कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य २१२ रूपैयाँ ४० पैसामा ३६ करोड १० लाखको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ९.९९ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआइसी एशिया बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५५२ रूपैयाँमा ३४ करोड ८१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये लघुवित्त समूहको परिसूचक ०.१८ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यसदिन बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। उक्त समूहको परिसूचक सर्वाधिक ९.८९ प्रतिशतले बढेको छ भने दोस्रोमा लगानी समूहको परिसूचक ५.७५ प्रतिशतले बढेको छ।