माछापुच्छ्रे बैंकले श्री त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरी हस्तान्तरण गरेको छ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेशको सुर्खेत जिल्लास्थित उक्त विद्यालयलाई खानेपानी पूर्वाधार हस्तान्तरण गरेको हो।
बुधबार विद्यालयमा आयोजित एक औपचारिक समारोहकाबीच उक्त खानेपानी सुविधाको हस्तान्तरण गरिएको हो।
विद्यालय सञ्चालनका लागि अति आवश्यक पर्ने खानेपानीका अभावका कारण पठनपाठनमा समेत समस्या परिरहेको जानकारी पाए पछि बैंकले उक्त विद्यालयको अवस्था अवलोकन गरी उक्त पूर्वाधार निर्माण गरेको हो।
२८९ जना विद्यार्थी एवं १८ जना शिक्षक/कर्मचारी कार्यरत उक्त विद्यालयले ३५०० मिटर टाढा रहेको मुहानबाट अस्थायी रूपमा पानीको पाइप जडान गरी खानेपानीको व्यवस्था गर्दै आएकोमा खडेरीको समयमा पानी सुक्ने, डढेलो लागेको बेलामा पानीको पाइप जलेर आपूर्ति बन्द हुने लगायतका समस्या रहेको थियो।
उक्त समस्यालाई मध्यनजर गर्दै बैंकले स्थायी रूपमा खानेपानी आपूर्तिका लागि मुहानमा ट्यांकी निर्माण गर्नुका साथै विद्यालय परिसरमा धाराको निर्माण गरेर उक्त निर्माण गरिएका पूर्वाधारहरू विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो।
बैंकले झण्डै २ महिनाको समय लगाएर उक्त पूर्णधार निर्माण गरेको जानकारी दिइएको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरूमा विभिन्न संघसंस्थाहरूसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरूमा काम गर्दै आएको छ।