साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
यसदिन नेप्से १९.८९ अंकले घटेर २०६९.५३ विन्दुमा बन्द भएको छ।
मंगलबार आगामी आर्थिक वर्षको लागि ल्याइएको बजेटमा सेयर बजारलाई छुने विशेष किसिमका कुनै पनि कार्यक्रम नआएपछि लगानीकर्ता निरास बनेका छन्।
सोही कारण बुधबार पनि नेप्से २३.८१ अंकले घटेको थियो।
यस दिन कारोबार रकम पनि घटेको छ।
बुधबार चार अर्ब ५७ करोड ५० लाख ६३ हजार २७४ रूपैयाँको कारोबार भएकोमा बिहीबार चार अर्ब २१ करोड ७४ लाख ९४ हजार १९५ रूपैयाँको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३६ करोड रूपैयाँ कमी आएको हो।
यस दिन ३११ वटा धितोपत्रको ९८ लाख ६४ हजार ४८२ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १७३ वटाको घटेको छ। यस्तै, ४ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन चार कम्पनीहरूको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।
नेपाल फाइनान्स, अपर लोहोरे खोला हाइड्रोपावर, भगवती हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ भने मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको हो।
पोखरा फाइनान्सको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६९१ रूपैयाँ २० पैसा कायम भएको छ।
यस्तै, कालिन्चोक दर्शनको मूल्य ७.०८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार १५३ रूपैयाँमा झरेको छ।
बिहीबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता ५५६ रूपैयाँ ६० पैसामा १९ करोड ४५ लाखको सेयर कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ङादी ग्रुप पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ३०९ रूपैयाँमा १५ करोड ३० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको बढेको छ भने बाँकी १० समूहको परिसूचक घटेको छ।
यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.२३ प्रतिशतले बढेको छ भने होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २.५३ प्रतिशतले घटेको छ।