आगामी आर्थिक वर्षको लागि ल्याइएको बजेटमा सेयर बजारलाई छुने विशेष किसिमका कुनै पनि कार्यक्रम नआएपछि लगानीकर्ता निरास बनेका छन्।
हालै २१२५ को उचाइ भेटेर घट्ने क्रममा रहेको नेप्से बजेटपछि थप ओरालो लागेको हो।
नेप्से लामो समयदेखि १८०० विन्दु माथि र २२०० विन्दुमुनि रहेर तलमाथि गरिरहेको छ।
केही समय अघि मात्रै धितोपत्र बोर्डले ब्रोकरको कमिसन घटाएको र राष्ट्र बैंकले समेत कर्जा लगानी बढाउने नीति लिएकोले त्यसको प्रभाव स्वरुप बजार बढिरहेको थियो।
अहिले बजारमा लगानीकर्ताहरू अन्योलमा रहे पनि छिट्टै बजार फर्कने आशमा छन्। विशेष गरी चालु आर्थिक वर्षको अन्तिम समय नजिकिँदै गरेकोले छोटो अवधिको लागि लगानी गर्नेहरू तयारी अवस्थामा रहेका देखिन्छन्।
यसैबीच, बुधबार नेप्से परिसूचक २३.८१ अंकले घटेर २०८९.४२ विन्दुमा बन्द भएको छ।
यस दिन कारोबार रकम भने बढेको छ।
सोमबार तीन अर्ब ८७ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार चार अर्ब ५७ करोड ५० लाख ६३ हजार २७४ रूपैयाँको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ७० करोड रूपैयाँ वृद्धि भएको हो।
यस दिन ३१४ वटा धितोपत्रको १ करोड ७ लाख ३८ हजार १६९ कित्ता सेयर किनबेच भएको हो।
बुधबार ५६ कम्पनीको सेयर मूल्य बढेको छ भने १९१ वटाको घटेको छ।
यसदिन चार कम्पनीहरूको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।
युनिलिभर नेपाल, कालिन्चोक दर्शन, अपर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको हो।
बुद्धभूमि नेपाल हाइड्रोपावरको मूल्य सर्वाधिक ९.४१ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ५८७ रूपैयाँ कायम भएको छ।
यस्तै, ग्लोबल आइएमई ब्यालेन्सड् फण्ड–१ को मूल्य ०.७४ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रूपैयाँ १७ पैसामा झरेको छ।
बुधबार पोखरा फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता ७६८ रूपैयाँमा १९ करोड २७ लाखको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ८.१७ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिइडिबी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ९१० रूपैयाँमा १९ करोड २७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको बढेको छ भने बाँकी नौ समूहको परिसूचक घटेको छ।
यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक २.६८ प्रतिशतले बढेको छ भने बैंकिङ समूहको परिसूचक सर्वाधिक २.९४ प्रतिशतले घटेको छ।