एनआइसी एशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र वीरगञ्ज शाखा कार्यालय पर्सा जिल्लास्थित वीरगञ्ज महानगरपालिका वडा नं. १० आदर्शनगरमा नवनिर्मित आफ्नै भवनबाट सञ्चालनमा ल्याएको छ।
यसअघि बर्दिबास नगरपालिकामा रहेको मधेश प्रादेशिक कार्यालय र वीरगञ्ज महानगरपालिकामै रहेको वीरगञ्ज शाखा यस नवनिर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ कारोबार सञ्चालन भइरहेको छ।
बैंकले निर्माण गरेको उक्त नवनिर्मित भवनबाट प्रादेशिक कार्यालय र शाखा सञ्चालनमा ल्याएपछि ग्राहकहरूलाई सम्पूर्ण किसिमका अत्यावश्यक बैंकिङ सेवा लिन थप सहज हुने बैंकले विश्वास लिएको छ।
साथै, उक्त नवनिर्मित भवनमा ग्राहकहरूलाई डिजिटल बैंकिङतर्फ प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले क्यास डिपोजिट मेसिन, क्यास रिसाइकल मेसिन जस्ता अत्याधुनिक सुविधा सम्पन्न मेसिनहरूबाट डिजिटल बैंकिङ कारोबार गर्नका लागि बेग्लै डिजिटल बैंकिङ हल समेत सञ्चालनमा ल्याएको छ।
एनआइसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालय, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ।