आइतबारको करेक्सन पछि बजार फेरि बुलिश प्रवृत्तिमा जाने प्रयासमा देखिएको छ।
पाँच दिन लगातार बढेको बजारमा आइतबार करेक्सन देखिएको थियो। सोमबार भने बजार बन्द हुँदा ३.९३ बिन्दुले बढेर २११३.२७ विन्दुमा पुगेको छ।
कारोबार अवधिमा १३ अंकसम्म बढेको बजारले बन्द हुने समयमा झिनो वृद्धि कायमै राखेको हो। कारोबार रकममा भने यसदिन गिरावट आएको छ।
आइतबार चार अर्ब ४२ करोडको सेयर किनबेच भएकोमा सोमबार भने यो रकम घटेर तीन अर्ब ८७ करोड रूपैयाँमा सीमित भएको छ।
नेप्से केही समयअघि देखि नै २२ सय विन्दु नपुग्दै फर्किने गर्दै आएको छ। यसपटक पनि नेप्से २१४० सम्म पुगेर फर्किएको हो।
मंगलबार आउने बजेटले बजारलाई सम्बोधन गर्न सकेमा मात्रै बजारले २२ सय विन्दु पार गर्ने सम्भावना देखिएको छ।
हालै मात्र धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाएको छ भने राष्ट्र बैंकले समेत कर्जा लगानी बढाउने उपाय अपनाउन सुरू गरेको छ।
त्यसैले आगामी दिनमा हुने सकारात्मक पहलले नै बजारलाई यो साइडवेज मुभमेन्टबाट बाहिर निकाल्ने देखिएको छ। साइडवेज मुभमेन्टमा बजार निश्चित दुई वन्दुमा रहेर तलमाथि गरिरहन्छ।
नेप्से लामो समयदेखि १८ सय माथि र २२ सय मुनि रहेर तलमाथि गरिरहेको छ। सोमबार भने बजार कारोबारमा आएका ३ सय १७ धितोपत्र तथा ऋणपत्रमध्ये एक सय ८१ वटाको मूल्य बढेर र एक सय १९ वटाको मूल्य घटेर खरिदबिक्री भएको छ।
यसदिन एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट फण्डको सबैभन्दा धेरै २० करोड ४० लाख रूपैयाँको कारोबार भएको छ।
बुद्धभूमी पावरको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयर हाउसको मूल्य सबैभन्दा धेरै १० प्रतिशतको दरमा बढेको छ।