पछिल्लो समय हिमालयन बैंकले सिभिल बैंक लिने प्रक्रिया चलिरहेको छ।
मिलिसकेपछि दुई बैंकमा भएको सेयरको हिसाबकिताब कसरी हुने भनेर पनि सम्झौता भइसकेको छ।सम्झौताअनुसार दुई बैंक एक भएपछि, पहिले हिमालयन बैंकमा एक सय कित्ता सेयर हुने लगानीकर्ताको एक सय कित्ता नै सेयर रहनेछ।
तर सिभिलमा सय कित्ता हुनेको घटेर ८१ कित्ता मात्र हुनेछ।
व्यवसाय र पुँजीका आधारमा हिमालयन बलियो भएकाले यस्तो निधो भएको हो। एक बैंकले अर्को बैंक लिने प्रक्रियामा बलियो बैंक हावी हुन्छ।
हिमालयनले यसअघि इन्भेस्टमेन्ट बैंकसँग गाभिने प्रक्रिया अगाडि बढाएको थियो। विभिन्न कारणले त्यो मर्जर तोडियो। त्यसपछि हिमालयनले सिभिल बैंक लिने निर्णय गरेको हो।
हिमालयन र इन्भेस्टमेन्टबीच मर्जरको कुरा हुँदा भने सेयर बाँडफाँटको हिसाब अलि फरक थियो। बराबर हैसियतका दुई बैंक गाभिने प्रक्रियामा अगाडि बढ्दा दुवैले आआफ्ना शर्तहरू राख्छन्।
त्यो बेला हिमालयनमा एक सय कित्ता सेयर हुने लगानीकर्ताको एक सय कित्ता नै सेयर हुने र इन्भेस्टमेन्टको पनि उति नै रहने सम्झौता थियो। त्यो मर्जर भएको भए अहिले हिमालयन र इन्भेस्टमेन्ट दुवै बैंकका लगानीकर्ताको पहिले जतिजति सेयर थियो, अहिले पनि उति नै रहन्थ्यो।
तर हिमालयनले लिन लागेको सिभिलका लगानीकर्ताको हकमा यस्तो हुने छैन।
सूचकहरू हेर्दा सिभिल बैंक इन्भेस्टमेन्टभन्दा कमजोर छ।
हाल इन्भेस्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रूपैयाँ छ। सिभिलको नौ अर्ब सात करोड छ।
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा इन्भेस्टमेन्टको खुद ब्याज आम्दानी दुई अर्ब १२ करोड छ भने सिभिलको एक अर्ब १५ करोड रूपैयाँ छ।
इन्भेस्टमेन्टको खुद नाफा एक अर्ब १४ करोड रूपैयाँ छ भने सिभिलको ४१ करोड ५० लाख रूपैयाँ छ।
त्यस्तै इन्भेस्टमेन्टको वितरणयोग्य नाफा एक अर्ब ८० करोड रूपैयाँ छ। बैंकले हालसम्मको नाफाबाट १३.८७ प्रतिशत लाभांश क्षमता देखिएको छ।
सिभिलको यस्तो नाफा ८६ करोड तीन लाख रूपैयाँ मात्र छ। यस आधारमा सिभिलको लाभांश क्षमता ९.४७ प्रतिशत देखिएको छ।
इन्भेस्टमेन्ट बैंकको प्रतिसेयर आम्दानी २४.९२ रूपैयाँ, मूल्य आम्दानी अनुपात १०.६३ गुणा र प्रतिसेयर नेटवर्थ एक सय ९२ रूपैयाँ छ। त्यस्तै, सिभिलको प्रतिसेयर आम्दानी १८.२९ पैसा र प्रतिसेयर नेटवर्थ एक सय ३६ रूपैयाँ छ।
विगत दस वर्षमा इन्भेस्टमेन्ट बैंकले वार्षिक औसत २९ प्रतिशत लाभांश दिएको छ। यो अवधिमा बैंकले वार्षिक औसत बोनस सेयर १५ प्रतिशत बराबर दिएको छ। सिभिल बैंकले भने दस वर्षमा वार्षिक औसत ६.४७ प्रतिशत लाभांश दिएको छ। उसले वार्षिक औसत बोनस ४.४८८ प्रतिशत बोनस दिएको छ।
इन्भेस्टमेन्ट बैंक बलियो भए पनि अहिले सेयरको मूल्य हेर्दा सिभिलभन्दा तल परेको छ।
हाल बजारमा इन्भेस्टमेन्टको सेयर प्रतिकित्ता दुई सय १२ रूपैयाँ ९० पैसामा कारोबार भइरहेको छ। ऊभन्दा कमजोर सिभिल बैंकको भने दुई सय २२ रूपैयाँ ९० पैसामा कारोबार भइरहेको छ।
तुलनात्मक रूपमा बलियो बैंकको सेयर मूल्यलाई सिभिलले उछिनेपछि धेरै लगानीकर्ताहरू 'किन यस्तो भयो' भनेर अचम्म मान्दै छन्।
कतिपयको भनाइ छ, ‘यो सेयर बजार हो। यहाँ जे पनि हुनसक्छ।’
उनीहरू अधिकांशको अनुमान छ- हिमालयन बैंकले लिने भएकाले सिभिलको सेयर मूल्य बढेको हो।
हाल हिमालयनको सेयर प्रतिकित्ता तीन सय २९ रूपैयाँमा किनबेच भइरहेको छ। सिभिललाई हिमालयनले लिएपछि सिभिलका लगानीकर्ताले पनि हिमालयन बैंककै नामबाट सेयर प्राप्त गर्छन्। यसो हुँदा सिभिलको सेयरको पनि भाउ बढिहाल्छ।
त्यसो भए सिभिलको सेयर भाउ बढ्नुको कारण यही हो त?
हुन पनि सक्छ।
सिभिलको हाल नौ करोड सात लाख कित्ता सेयर छ। हिमालयनमा मिलेपछि यसको ८१ प्रतिशत सेयर मात्र रहन्छ। अर्थात् सेयर संख्या सात करोड ३५ लाख १४ हजार कित्ता मात्र हुन्छ। सिभिलका लगानीकर्ताको सेयर संख्या घटे पनि मूल्यका हिसाबले उनीहरूलाई फाइदै हुने देखिन्छ।
हाल हिमालयन र सिभिलको सेयर र कायम रहेको मूल्यका आधारमा कुल बजार पुँजीकरण ६२ अर्ब ८९ करोड रूपैयाँ छ। दुई बैंक मिलेपछि सिभिलको सेयर संख्या घट्छ र अहिलेकै बजार मूल्यमा हिसाब गर्दा कुल बजार पुँजीकरण १६ अर्ब ६८ करोड मात्र हुनेछ। हिमालयनको यथावत नै रहनेछ। त्यसैले दुइटा मिलेर बनेको बैंकको कुल बजार पुँजीकरण पनि ५९ अर्ब रूपैयाँमा सीमित हुनेछ।
अहिले हिमालयन र सिभिल दुवैको गरी कुल सेयर संख्या २२ करोड चार लाख छ। प्राप्तीपछि घटेर २० करोड ३२ लाख हुनेछ।
दुई मिलेर बनेको बैंकको सेयर मूल्य भने नेपाल स्टक एक्सचेन्जले तोक्नेछ। यसमा प्राप्तीपछिको नयाँ कुल बजार पुँजीकरणलाई नयाँ सेयर संख्याले भाग गरेर मूल्य तोकिन्छ। यस आधारमा हिसाब गर्दा अब बन्ने बैंकको सेयर मूल्य दुई सय ९० रूपैयाँ हुन आउँछ। हाल सिभिलको सेयर भाउ दुई सय २२ रूपैयाँ प्रतिकित्ता मात्र छ।
भोलिका दिनमा फाइदा हुने भएकाले पनि सिभिलको सेयर मूल्य इन्भेस्टमेन्टको भन्दा बढी भएको हुनसक्छ।
अर्कातिर इन्भेस्टमेन्टले अहिले ११ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकले ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।
सिभिलले भने ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
हाम्रो सेयर बजारमा लगानीकर्ताहरू नगद लाभांशलाई भन्दा बोनस सेयरलाई बढी महत्व दिन्छन्। सिभिलको बोनस सेयर बढी भएकाले पनि लगानीकर्ताहरू आकर्षित भएको पनि अनुमान लगाउन सकिन्छ।