उद्योगी व्यवसायीहरूले आर्थिक गतिविधि सुस्ताएको र मन्दी छाएको बताइरहँदा राष्ट्र बैंक यो कुरा पत्याइरहेको छैन।
केही समयअघि व्यवसायीहरूले भनेजसरी आर्थिक गतिविधिमा सुस्ति आए-नआएको भन्ने विषयमा अध्ययन भइरहेको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिएका थिए। राष्ट्र बैंकले आन्तरिक भनेको यो अध्ययनको निश्कर्षमा आर्थिक गतिविधिमा सुस्तता नआएको दाबी छ।
'अहिले हाम्रो अध्ययनले मानिसहरूले एकअर्कासँग गर्ने कारोबारमा वृद्धि भइरहेको देखिएको छ,' राष्ट्र बैंकका भुक्तानी विभाग प्रमुख तथा कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले भने, 'त्यसैले आर्थिक गतिविधिमा खासै मन्दी आइनसकेको हाम्रो विश्लेषण छ।'
२०७६ साल मंसिरबाट राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट कार्यान्वयनमा ल्याएको हो। राष्ट्र बैंकले अहिलेको अध्ययनमा यही तथ्यांकलाई हेरेको बताएको छ।
वास्तविक समयमै भएको कारोबारको फर्छ्यौट रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) अन्तर्गत हुन्छ। उच्च मूल्य र अन्यन्त जरूरी कारोबार यो प्रणालीबाट गर्न सकिने व्यवस्था छ। कम्तीमा एकपटकमा २० लाख वा सोभन्दा माथिको रकमको कारोबार आरटिजिएस प्रणालीबाटै हुनुपर्ने व्यवस्था छ।
हाल केही समयलाई यो नियममा पनि छुट दिइएको छ। अर्थात् बैंकदेखि बैंकमै हुने गरेर चेक लगायतका अन्य माध्यमबाट पनि यस्तो कारोबार गर्न सकिन्छ।
तर यो प्रणालीको प्रयोग गर्न चाहनेले न्यूनतम दुई लाखभन्दा माथिको कारोबारसमेत गर्न सकिने सुविधा छ। अन्तर बैंकको कारोबार पनि यही प्रणालीबाट गर्नपर्ने व्यवस्था छ। हाल बैंकहरूको एकआपसमा हुने र व्यक्ति वा संस्थादेखि संस्थाबीच हुने कारोबार आरटिजिएस प्रणालीको प्रयोग गरेर हुन्छ। त्यस्तै हाल १० लाखभन्दा बढीको नगद कारोबार गर्न नपाइने व्यवस्था छ। अर्थात बैंकिङ प्रणालीबाटै कारोबार गर्नै पर्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले भनेजस्तै आरटिजीएसको कारोबारमा वार्षिक रूपमा वृद्धि भएको देखिन्छ। आर्थिक वर्ष २०७७/७८ मा कुल पाँच लाख ३३ हजार कारोबारबाट २० खर्ब ५५ अर्ब रूपैयाँको भुक्तानी तथा रकम ट्रान्सफर भएको थियो। आर्थिक वर्ष २०७८/७९ मा कुल सात लाख ५० हजार कारोबारबाट चार सय २१ खर्ब ३४ अर्ब रूपैयाँ बराबर भुक्तानी तथा ट्रान्सफर भएको थियो।
चालु आर्थिक वर्षको तीन महिना (असोजसम्म) मा दुई लाख १५ हजार वटा कारोबारबाट एक सय १२ खर्ब १७ अर्ब रूपैयाँको भुक्तानी तथा ट्रान्सफर भएको छ। गत आर्थिक वर्षको तुलनामा कारोबार संख्या २५.८३ प्रतिशतले वृद्धि भएको हो भने रकमको आधारमा ४४.४३ प्रतिशतको वृद्धि देखिएको छ।
यिनै तथ्यांकहरू (पछिल्लो थप केही महिनाको समेत) लाई हेरेर राष्ट्र बैंकले बजारको आर्थिक गतिविधिमा शिथिलता नआएको निश्कर्ष निकालेको हो।
के मुलुकभरि हुने कारोबार बैंकिङ दायरामा आउँछ?
मुलुकभित्र दैनिक कति कारोबार होला त? के यसरी हुने सबै कारोबार राष्ट्र बैंकको दायरामा आउँछ त?
उत्तर सहज छ, आउँदैन!
किनभने अहिले पनि हाम्रो मुलुकमा करिब ३५ देखि ४० प्रतिशत बराबर हिस्सा अनौपचारिक अर्थतन्त्रको रहेको मानिँदै आएको छ। हालको कुल गार्हस्थ्य उत्पादन ४८ खर्ब ५१ अर्बको आधारमा लगभग पनि १९ खर्ब ४० अर्ब अनौपचारिक अर्थतन्त्र हुने देखिन्छ। त्यस्तै, हाल चलनचल्तीमा ५ खर्ब ३२ अर्ब बराबर मुद्रा छ। यसमध्ये धेरैजसो रकम बैंकिङ प्रणालीबाहिर सर्वसाधारणको साथमा हुन्छ।
त्यसैले राष्ट्र बैंकले यही आरटिजीएसको कारोबारको विश्लेषणको आधारमा मात्रै आर्थिक गतिविधिमा शिथिलता आए नआएको दाबी गर्न सक्छ?
'हामीले अहिले बैंकिङ प्रणालीबाट भइरहेको कारोबार मुलुकभित्र हुने कारोबारको कति प्रतिशत हो भनेर यकिन गर्न सक्ने अवस्था भने छैन,' राष्ट्र बैंकका उच्च तहका एक अधिकारी बताउँछन्, 'तर धेरै जसो कारोबार दायरामा आउने भएकोले बजारमा मन्दी आइसकेको छ वा छैन भन्ने अड्कल काट्न भने गाह्रो हुँदैन।'