वाणिज्य बैंकहरुमा एक सातामा १३ अर्बले निक्षेप थपिँदा कर्जा प्रवाह २३ अर्बले बढेको छ। चैतको अन्तिम सातामा निक्षेप तथा कर्जाको वृद्धिदर उच्च देखिएको छ।
चैत ३० गतेसम्म वाणिज्य बैंकहरुमा कुल निक्षेप २२ खर्ब ६८ अर्ब पुगेको छ। चैत २२ गतेसम्म यो रकम २२ खर्ब ५५ अर्ब थियो। एक सातामा निक्षेप ० दशमलव ५९ प्रतिशतले बढेको छ।
चैतको अन्तिम साता कर्जा प्रवाह समेत बढेको छ। यस अवधिमा २३ अर्ब रुपैयाँ कर्जा बढेको नेपाल बैंकर्स संघले जनाएको छ। जुन वृद्धिदर १ दशमलव १६ प्रतिशत हुन आउँछ। संघका अनुसार चैत मसान्तसम्म २० खर्ब २ अर्ब कर्जा प्रवाह भएको छ।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालका अनुसार चैत अन्तिममा निक्षेपमा उच्च वृद्धि देखिनुको प्रमुख कारण बैंकहरुले प्रदान गर्नुपर्ने व्याज पुँजीकरण हुनु हो। ‘बैंकहरुले बचतकर्तालाई दिने व्याज खातामा जम्मा गरिदिन्छन्, जम्मा भएपछि यो निक्षेपका रुपमा गणना हुने भएकाले बढी देखिएको हो’ उनले भने।
असार, असोज, पुस र चैत अन्तिममा व्याज पुँजीकरण हुने हुँदा निक्षेपको वृद्धिदर उच्च देखिने गरेको दाहालले बताए। बैंकहरुले यी चार महिनाको अन्तिम साता निक्षेपकर्तालाई व्याज खातामा जम्मा गरिदिने गरेका छन्। जुन निक्षेपमै गणना हुने गर्छ।
आयकर बुझाउने महिना भएकाले पनि चैत अन्तिममा कर्जा प्रवाह उच्च देखिने गरेको उनले बताए। सामान्यतः बैंकहरुमा जेठदेखि मात्रै निक्षेपमा सुधार आउने गरेको उनको अनुभव छ। त्यतिबेला पुँजीगत खर्च बढ्ने भएकाले निक्षेपमा सुधार आउने गरेको हो।
बैंकहरुमा देखिएको लगानीयोग्य रकमको अभावमा अझै सुधार नदेखिएको बैंकर्स बताउँछन्।‘जेठदेखि असोज कात्तिकसम्म निक्षेपमा समस्या हुँदैन’ दाहालले भने ‘अन्य महिनाहरुमा लगानीयोग्य रकमको अभाव देखिँदै आएको छ।’
चैत महिनामा बैंकहरुमा कुल ४९ अर्ब निक्षेप थपिएको छ भने ४० अर्ब कर्जा प्रवाह बढेको छ। फागुन मसान्तसम्म बैंकहरुमा २२ खर्ब १९ अर्ब निक्षेप रहेकोमा चैत मसान्तसम्म २२ खर्ब ६८ अर्ब पुगेको छ। माघ मसान्तसम्म यो रकम २२ खर्ब ८ अर्ब थियो।
त्यस्तै माघ मसान्तसम्म १९ खर्ब ४७ अर्ब कर्जा प्रवाह भएकोमा फागुन मसान्तसम्म १९ खर्ब ६२ अर्ब पुगेको छ। चैत मसान्तसम्म यो रकम २० खर्ब २ अर्ब कायम भएको छ।
यस्तो छ, वाणिज्य बैंकहरुमा चैत महिनासम्म निक्षेप तथा कर्जाको स्थिति