अन्तिम कारोबारको दिन हरियो अंकमा रहे पनि समग्रमा यो वर्ष सेयर बजारको परिसूचकमा २७४ अंकको कमी आएको छ।
२०७४ सालमा बजार खुलेको पहिलो दिन वैशाख ३ गते १६५१ अंकमा रहेको नेप्से परिसूचक गत बिहीबार बन्द हुँदा १२७७ अंकमा कायम रह्यो।
वैशाख १० गते १६९३ अंकमा पुगेको नेप्सेले यो सालकै उच्चतम अंक कायम राख्यो। २०७२ साल साउन १२ गते १८८१ अंकमा पुगेको थियो। त्यो उच्च अंकको रेकर्ड २०७३ र २०७४ सालमा तोडिन सकेन।
सेन्सिटिभ इन्डेक्स यो वर्ष ८५ अंकले घटेको छ। वर्षभर बीमा उपसूचकमा सबैभन्दा धेरै अंकले कमी आएको छ। सो उपसूचक २३८४ अंकले घटेको छ। यस वर्ष सो उपसूचक ८,५४५ अंकबाट ६,१६१ मा झरेको छ।
बैंकिङ ४०३, होटल २८५, जलविद्युत ४८४, बीमा २३८४, विकास बैंक ४२४, फाइनान्स १०४, व्यापार ३, अंकले घटे। यसको अर्थ ति उपसमूहको पोर्टफोलियो बलियो रहेका अधिकांश लगानीकर्ताको सम्पत्ति एक वर्षको अवधिमा घटेको छ।
ति उपसूचकमा ठूलो अंकको गिरावट देखिएकाले सीमित कम्पनीबाहेक धेरै कम्पनीको लाभांश तथा हकप्रदपछि समायोजित मूल्यले समेत सुरुको लगानी उठाउन सकेको देखिँदैन।
उत्पादनमूलक र अन्य उपसूचक भने यो वर्ष बढेका छन्। वैशाख ३ गते २१४८ अंकमा रहेको उत्पादनमूलक उपसूचक अन्तिम दिन २२६४ मा कायम भएको छ। उत्पादनमूलकमा युनिलिभर, बोटलर्स नेपाल तराई, तथा हिमालय डिस्टिलरीको नियमित कारोबार हुने गरेको छ।
त्यस्तै अन्य उपसूचक ३३ अंकले बढेको छ। अन्यअन्तर्गत नियमित कारोबार हुनेमा नेपाल टेलिकम, जलविद्युत लगानी तथा विकास कम्पनी र नागरिक लगानी कोष पर्दछन्।
यो वर्ष कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो। उसको ५ अर्ब ६५ करोडको सेयर खरिदबिक्री भयो। मूल्यका आधारमा हेर्ने हो भने उसको सेयर मूल्य २,३९३ बाट १,१५५ सम्म झरेको छ। यो बीचमा लगानीकर्ताले ४२ प्रतिशत बोनस सेयर पाएका छन्।
दोस्रोमा रहेको स्टान्डर्ड चार्टडको ५ अर्ब २० करोडको सेयर कारोबार भयो। उसको सेयर मूल्य २२६१ बाट ८५५ मा झरेको छ। यसबीचमा बैंकले शत प्रतिशत बोनस सेयर दिएको छ।
त्यस्तै एभरेष्ट बैंकको ३ अर्ब ४१ करोड तथा नेपाल इन्भेष्टमेन्ट बैंकको ३ अर्ब १४ करोडको सेयर किनबेच भयो। एक वर्षमा एभरेष्टको मूल्य २०४९ बाट ७९७ सम्म झरेको छ। यसबीचमा कम्पनीले हकप्रद तथा बोनस सेयर जारी गरेर मूल्य समायोजन भएको हो।
कारोबारका आधारमा टप फाइभभित्र परेको नेपाल बैंकको २ अर्ब ८१ करोडको सेयर किनबेच भयो। वैशाख ३ गते ४०१ रुपैयाँ रहेको कम्पनीको मूल्य हाल ३२१ मा झरेको छ।
सानिमा बैंकको २ अर्ब ७३ करोड, प्राइम लाइफको २ अर्ब ६८ करोड, प्रभु बैंकको २ अर्ब ६० करोड, नविलको २ अर्ब ५४ करोड तथा नेपाल टेलिकमको २ अर्ब २० करोडको सेयर किनबेच भयो।