अर्थसचिव डा. राजन खनालले पुँजी बजारका नियामकलाई प्रभावकारी रुपमा आफ्नो भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।
नियामकले पुँजी बजारको विकासका लागि तदारुकता नदेखाएको भन्दै लगानीकर्ताले गुनासो गरेका बेला अर्थसचिवले यस्तो निर्देशन दिएका हुन्।
सम्बद्ध पक्षसँग बारम्बार भेट गर्दै लगानीकर्ताले अनलाइन ट्रेडिङको विकास, नेप्से निजीकरण, मार्केट डिलरको संचालन, गैरआवासीय नेपालीलाई लगानीको वातावरण बनाउन आग्रह गर्दै आएका छन्।
पुँजी बजार र आर्थिक क्रियाकलापले समग्र अर्थतन्त्रलाई प्रतिनिधित्व गर्नुपर्नेमा सो हुन नसकेको औंल्याउँदै खनालले पुँजी बजारमा भएको लगानीलाई उत्पादनशील क्षेत्रमा परिचालन हुनेगरी पुँजीको विकास गर्नुपर्नेमा जोड दिए।
पदबहालीको अवसरमा अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा सचिव खनालले बजेट तर्जुमा गर्ने काममा पनि ढिलाई नगर्न निर्देशन दिए।
सरकारको कोष मजबुत बनाउन राजश्व परिचालनलाई प्रभावकारी बनाउने, चुहावट नियन्त्रण गर्ने, अनौपचारिक अर्थतन्त्रको नियमन गर्ने, सार्वजनिक खर्चमा देखिएको अनियमितता हटाउने, अनावश्यक विदेश भ्रमण नियन्त्रण गर्नुपर्नेमा उनले जोड दिए।
‘सरकारी कोषको अवस्था मजबुत हुन सकेको छैन, खर्चको भारलाई कम गर्न योगदानमा आधारित पेन्सन प्रणालीसम्वन्धी कानूनी व्यवस्था गर्नुपर्छ’ खनालले भने।
सबै कर्मचारीलाई पारदर्शी भई मुलुक र नागरिकको हितमा लाग्न उनले निर्देशन दिए।