सेयर बजारको परिसूचक बुधबार २७ अंकले बढेको छ। यसअघि अघिल्लो दिन ६ अंकले बढेको बजार आज दोहोरो अंकले बढेको हो। सो अंकको वृद्धिपछि नेप्से १२२६ अंकमा कायम भएको छ।
यस दिन सबै उपसूचकहरु बढेका छन्। बैंकिङ १९, होटल ४५, विकास बैंक ३९, जलविद्युत ३६, फाइनान्स ७, बिमा २०८, उत्पादन २४, अन्य १० र माइक्रोफाइनान्स सूचक ६३ अंकले बढे।
यस दिन कुल १६२ कम्पनीको ३३ करोड ६४ लाखको सेयर किनबेच भयो। कारोबार रकम अघिल्लो दिनको तुलनामा ११ करोडले बढी हो। बजारको पुँजीकरण १४ अर्ब ३७ करोड कायम भएको छ।
यस दिन नविल बैंक कारोबारका आधारमा अग्रस्थानमा रह्यो। कम्पनीको १ करोड ६२ लाखको कारोबार हुँदा मूल्य प्रतिकित्ता ९६५ कायम भएको छ।
त्यस्तै नेपाल इन्स्योरेन्सको १ करोड ३७ लाखको कारोबार भयो। इन्भेष्टमेन्ट, सानिमा, नागरिक लगानी कोष तथा स्टान्डर्ड चार्टडको १–१ करोड बढी रकमको कारोबार भयो।
समग्र नेप्सेमा आएको वृद्धिसँगै धेरै कमाउनेमा भने लघुवित्त कम्पनीका लगानीकर्ता अगाडि देखिएका छन्। मूल्य बढ्ने उत्कृष्ट सात कम्पनीमा सबै लघुवित्त परेका छन्।
कालिका माइक्रोक्रेडिटको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। एनएमबि माइक्रोफाइनान्सका लगानीकर्ताले साढे ९ प्रतिशत मूल्य कमाए। महिला सहयात्राको ८.६, नागबेली लघुवित्तको ८. २ प्रतिशतले मूल्य बढ्यो। लक्ष्मी लघुवित्त तथा साना किसान विकास बैंकको मूल्य ८ प्रतिशतले बढ्यो।
आगामी मौद्रिक नीतिमार्फत लघुवित्त कम्पनीहरुको चुक्ता पुँजी बढ्न सक्ने तथा स्थानीय निकायमा अब आर्थिक गतिविधि सल्बलाउने लगानीकर्ताको अपेक्षा छ।
यी कम्पनीको उपसूचक ‘माइक्रोफाइनान्स’ हो। नेप्सेमा यो उपसूचकका ३६ कम्पनी सूचीकृत छन्।
यस दिन घटेका कम्पनीहरुको मूल्य पनि २ प्रतिशतमुनि रहे। गुह्वेश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले १.९ प्रतिशत मूल्य गुमाए।