नेपाल राष्ट्र बैंकले २० अर्बको पूर्वाधार विकास बैंक खोल्नका लागि प्रारम्भिक पुँजी जुटाउन संस्थापक लगानीकर्तालाई पत्राचार गरेको छ।
सहप्रवक्ता राजेन्द्र पण्डितले संस्थापकहरुलाई ३० दिनभित्र प्रारम्भिक पुँजी जुटाउनका लागि पत्राचार गर्नेगरी बोर्डबाट निर्णय भएको जानकारी दिए।
यसअघि संस्थापकहरुका सम्वन्धमा कुनै उजुरी तथा गुनासो दिन सूचना जारी गरेकोमा कुनै उजुरी नपरेपछि राष्ट्र बैंकले पुँजी जुटाउन भनेको हो।
‘यसलाई स्वीकृति दिएको भन्न मिल्दैन, उहाँहरुले समयमै पुँजी वा अन्य प्रक्रिया पुरा गर्न नसकेमा स्वीकृति पाउनुहुन्न’ पण्डितले भने ‘हामीले पुँजी जुटाउनका लागि पत्राचार गर्ने निर्णय गरेका हौँ।’
अब संस्थापकहरुले एक महिनाभित्र कुल चुक्ता पुँजीको ४५ प्रतिशत रकम जुटाउनुपर्ने छ। अर्थात संस्थापकतर्फको कुल १२ अर्ब पुँजीमा ५ अर्ब ४० करोड जुटाएर ‘एलओआई’ (लेटर अफ इन्ट्रस्ट) प्रक्रिया अघि बढ्ने छ। पूर्वाधार विकास बैंकका लागि इमर्जिङ नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ।
इमर्जिङ नेपालका प्रमुख कार्यकारी अधिकृत विनोद आत्रेयले एक महिनाभित्र संस्थापकहरुबाट भनेअनुसारको पुँजी जुटाउन पहल गर्ने प्रतिबद्धता जनाए। उनले भने ‘एलओआई प्रक्रियाका लागि हामीले ३० दिनभित्र पुँजी जुटाउनुपर्दछ, त्यसका लागि तयारी अवस्थामै छौँ।’
उनका अनुसार ४१ लगानीकर्ताले संस्थापक पुँजी जुटाउने छन्। ४१ लगानीकर्तामा विभिन्न बैंक, बिमा, वित्तीय संस्था, संस्थान, औधोगिक घराना तथा व्यवसायिक संस्थाहरु छन्।
प्रारम्भिक पुँजी जुटेपछि कम्पनी दर्ता, कार्यालय स्थापना, कर्मचारी तथा प्रशासनिक स्रोत साधन जुटाउने काम अघि बढ्ने आत्रेयले बताए। उनका अनुसार ति सबै प्रक्रिया पुरा गरेर ६ महिनाभित्रमा इजाजतका लागि नेपाल राष्ट्र बैंकलाई पत्र पठाइनेछ। कम्पनीले जुटाएको सबै स्रोतसाधन तथा प्रक्रिया अध्ययन गरेपछि राष्ट्र बैंकले संचालनको इजाजतपत्र दिनेछ।
प्रारम्भिक पुँजी जुटाउनका लागि पत्र पाएको करिब ६ महिनाको अवधिमा पूर्वाधार विकास बैंक स्थापना हुने आत्रेयले सेतोपाटीलाई बताए। ‘चाँडै पुँजी जुटाउन सकियो र प्रक्रियागत कामहरु पनि चाँडो अघि बढेमा पूर्वाधार विकास बैंक स्थापनाका लागि ६ महिना पनि लाग्दैन’ उनले भने।
पूर्वाधार विकास बैंकका लागि कम्तीमा २० अर्बको चुक्ता पुँजी तोकिएको छ। जसमा संस्थापकहरुले १२ अर्ब जुटाउने छन्। १२ अर्बमै नेपाल सरकारको २ अर्ब रहनेछ। बाँकी ८ अर्ब रुपैयाँ सर्वसाधारणबाट जुटाइनेछ। यदी विदेशी लगानीकर्ताले पनि पुँजी राख्न चाहेमा २० अर्बबाट बढाउन सकिने आत्रेयले बताए।
राष्ट्र बैंकको नीतिगत व्यवस्थाअनुसार यदी विदेशी लगानीविना बैंक खुल्ने भएमा न्यूनतम ५१ देखि अधिकतम ७० प्रतिशतसम्मको सेयर संस्थापकले जुटाउनुपर्नेछ। त्यस्तै सर्वसाधारणका लागि ३० प्रतिशत अनिवार्य व्यवस्था गरिएको छ। सर्वसाधारणलाई छुट्याइएको सेयरमै कर्मचारीहरुका लागि पनि व्यवस्था गरिएको छ।
यदी विदेशी संयुक्त लगानी वा वित्तीय संस्थाको लगानीमा खुल्ने भएमा संस्थापकलाई न्यूनतम २० देखि अधिकतम ८५ प्रतिशत र सर्वसाधारणलाई न्यूनतम १५ प्रतिशत सेयर जारी गर्नुपर्ने व्यवस्था छ।
पूर्वाधार विकास बैंक खुलिसकेपछि सो बैंकले विकास आयोजना तथा पूर्वाधारमा लगानी गर्नेछ। त्यस्तै सरकारलाई आवश्यक सरसल्लाह दिने, विदेशबाट लगानी भित्र्याउनका लागि पहल गर्ने, भित्र्याएको रकम पूर्वाधार तथा आयोजनाहरुमा परिचालन गर्ने कामहरु गर्नेछ।