सिद्धार्थ बैंकले भिसा कार्डबाट रकम भुक्तानी गर्दा नगद फिर्ता पाइने योजना ल्याएको छ। अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसा सँगको सहकार्यमा उसले यस्तो योजना ल्याएको हो।
भिसा कार्ड होल्डरले बस्तु तथा सेवा खरिद गर्र्दा कार्डमार्फत नै भुक्तानी गरेपछि कुल खर्च रकमको १५ प्रतिशतसम्म खातामा फिर्ता हुने बैंकले जनाएको छ।
आफ्नो भिसा डेबिट कार्ड एक्टिभेट गरेको १५ दिन भित्र उक्त कार्डबाट कारोबार गरेको खण्डमा पहिलो कारोबार अन्तर्गत कुल खरिद रकमको १५ प्रतिशत वा अधिकतम एक हजार रुपैयाँ सम्मको नगद आफ्नो खातामा फिर्ता हुने बैंकले जनाएको छ।
यसै गरी भिसा डेबिट/क्रेडिट/प्रिपेड कार्ड प्रयोग गरिरहेकाले तीन वा तीनभन्दा बढी खरिद कारोबारमा कुल न्यूनतम एक हजार रुपैयाँको बस्तु तथा सेवा खरिद गरेको खण्डमा १० प्रतिशत वा अधिकतम १ हजार रुपैयाँ सम्म नगद फिर्ता पाउने बैंकले जनाएको छ। यो योजना चैत्र मसान्तसम्म जारि रहने बताइएको छ।
ग्राहकलाई वस्तु तथा सेवाको खरिद गर्दा नगद प्रयोगको सट्टा कार्ड मार्फत भुक्तानी गर्न अभिप्रेरित गर्ने उद्देश्यले यस्तो योजना ल्याइएको बैंकले जनाएको छ।
यसअघि एभरेष्ट बैंकले पनि कुल खर्चको ५ प्रतिशत रकम खातामै जम्मा हुनेगरी यस्तै योजना ल्याएको छ। नेपाल इन्भेष्टमेन्ट बैंकको नेटवर्कमा सम्बद्ध १० वटा बैंकहरुले अधिकतम १० प्रतिशतसम्म छुटको योजना दिइरहेका छन्।
सो नेटवर्ककको योजनाबाट सेन्चुरी बैंक, ग्लोबल आइएमई बैंक, कुमारी बैंक, महालक्ष्मी विकास बैंक, मेगा बैंक नेपाल, मुक्तिनाथ विकास बैंक, एनसिसि बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक र टुरिजम डेभलपमेन्ट बैंकका भिसा कार्ड प्रयोगकर्ताले लाभ लिइरहेका छन्।
देशभर १ सय शाखा, ९९ शाखा रहितसेवा, १०७ एटिएम र ६८७ पिओएस मेसिन मार्फत बैैकिङ्ग सेवा प्रदान हुँदै आएको सिद्धार्थले जनाएको छ।
आर्थिक वर्ष २०७४/०७५ को फागुन मसान्तसम्म बैंकले कुल निक्षेप ८७ अर्ब ५७ करोड रुपैयाँ संकलन गरेको छ भने ७९ अर्ब २९ करोड कर्जा रकम प्रवाह गरेको छ।