निरन्तर सेयर बजार ओर्लेपछि केही कम्पनीहरुको मूल्य आइपिओकै हाराहारीमा झरेको छ।
दोस्रो बजारमा लामो समयदेखि कारोबार गरेका तथा लाभांश समेत दिँदै आएकाको मूल्य डेढ सयभन्दा तल आएको छ। प्रत्येक्ष रुपमा सर्वसाधारणलाई अंकित मूल्य १ सय कायम गरी कम्पनीहरुले आइपिओ (प्राथमिक सेयर) जारी गर्दै आएका छन्।
धितोपत्र बोर्डको पछिल्लो व्यवस्थाअनुसार धेरैजसो कम्पनीको आइपिओ अब १० कित्ता भन्दा बढी पाउन सक्ने स्थिति छैन। अर्थात प्रत्येक आवेदकलाई १० कित्ता पुगेपछि मात्रै बाँकी सेयर पुनः समान तवरले आवेदकलाई बाँड्नुपर्ने व्यवस्था छ।
यही कारणले अब केही ठूला जलविद्युत कम्पनीबाहेक अन्य कुनै पनि कम्पनीको आइपिओमा १० कित्ता पाउनु चिठ्ठा जितेसरह नै हुनेछ।
यस्तो बेला बजारमा केही कम्पनीहरु आइपिओसरहकै मूल्यमा झरेको छ। कम्पनीहरुकै मूल्य झरेका कारण नेप्से परिसूचक समेत करिब १३ महिनायताकै न्यून विन्दुमा छ।
यस्तो बेला वित्तीय स्थितिलाई राम्ररी केलाएर राम्रा कम्पनी छानी कम्तीमा ३÷४ वर्षको अवधिका लागि लगानी गर्ने हो भने खेर नजाने विश्लेषक तथा अनुभवी लगानीकर्ताको भनाइ छ।
‘सस्तो मूल्य भन्दैमा नोक्सान बढ्दै गएका र प्रतिसेयर आम्दानी ऋणात्मक रहेका कम्पनी छान्नु भएन, प्रगति गर्दै गएका कम्पनीहरुको सेयर किन्न सकिन्छ’ लगानीकर्ता पिताम्बर खरेलले भने ‘आइपिओ किन्न मरिहत्ते गर्नेहरुले बुझेर उपयुक्त कम्पनीहरु अहिले किन्न सक्ने बेला आएको हो।’
केही वाणिज्य बैंककै सेयर मूल्य डेढ सयको हाराहारीमा छ। आइतबार बजार बन्द हुँदा सिभिल बैंकको मूल्य १४९ कायम भएको छ। त्यस्तै सेन्चुरीको १७२, जनताको १६३ मा झरेको छ।
वाणिज्य बैंकहरुको सेयरमा धेरै रिस्क नभएको खरेलले औंल्याए। ‘बैंकको संख्या धेरै भनिँदै आएको अवस्थामा अब थपिनेवाला छैनन्, यिनैले व्यवसाय बढाउने हो, लामो अवधिका लागि किन्दा उपयुक्त हुन्छ’ उनले भने।
भोलि मर्जका लागि बाध्यात्मक अवस्था पारिएमा पनि यी कम्पनीको मूल्यले उचित सम्मान पाउने उनको बुझाई छ। त्यस्तै सरकारी स्वामित्वको जलविद्युत लगानी तथा विकास कम्पनीको मूल्य डेढ सयमै झरेको छ।
उसले नाफाबाट प्रतिफल दिन सुरु गरेको छ। गत आवको नाफाबाट ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। आगामी दिनमा यो लाभांशको दर बढ्दै जान सक्नेछ।
तिबाहेक फाइनान्सतर्फ अरुणको १४५, बेस्टको १२४, सेन्ट्रलको १२३, गुडविलको १३३, गोर्खा फाइनान्सको प्रतिकित्ता १२४ रुपैयाँमा मूल्य कायम भएको छ। मन्जुश्री फाइनान्सको १२७, रिलायन्स फाइनान्स १२४ तथा वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको मूल्य प्रतिकित्ता १११ रुपैयाँ कायम भएको छ।
विकास बैंकतर्फ ज्योतिको १४४, देवको १४२, कन्काईको १३८, कर्णालीको १२२, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको १३४, सप्तकोसी विकास बैंक १२४ तथा सिन्धु विकास बैंकको मूल्य प्रतिकित्ता १४४ कायम भएको छ।
जलविद्युततर्फ नेसनल हाइड्रोको मूल्य प्रतिकित्ता १ सय रुपैयाँमै झरेको छ। अघिल्लो दिन ९८ मा झरेको मूल्य सोमबार दुई रुपैयाँले बढेको हो। दिव्यश्वरी हाइड्रोपावरको १२१ रुपैयाँ, सिनर्जी पावरको १३५, रिडीको १३१ रुपैयाँ मूल्य कायम भएको छ।
कम्पनीको मूल्य मात्रै नभई उनीहरुको वित्तीय स्थितिमा भने ध्यान दिनैपर्ने खरेल बताउँछन्। ‘यसअघि पनि कतिपय कम्पनी समस्याग्रस्त भएका छन्, त्यसकारण वित्तीय स्थितिलाई केलाउनैपर्छ’ उनले भने ‘सूचीकृत कम्पनीको वित्तीय स्थिति बुझ्नलाई पनि सहज हुन्छ।’
नोक्सान बढ्दै गएका, प्रतिसेयर आम्दानी ऋणात्मक बढ्दै गएको वा बढ्न नसकेको, व्यवसाय खस्कँदै गएका कम्पनीहरु भने छान्न नहुनेमा उनले जोड दिए। भोलि कम्पनी नै संकटग्रस्त भयो भने अंकित मूल्य १ सयमै किने पनि जोखिममा पर्न सक्ने भएकाले यसतर्फ चनाखो बन्नुपर्ने उनको सुझाव छ।
उनले थपे ‘कतिपयको वित्तीय स्थितिकै कारण पनि मूल्य खस्किएको हुन सक्छ भने कतिपयको मजबुत बन्दाबन्दै पनि बजारको प्रकृतिअनुसार झरेको हुन सक्छ।’
वित्तीय स्थिति मजबुत बन्दाबन्दै पनि बजारको प्रकृतिले झारेका कम्पनीहरु छान्नुपर्नेमा उनको जोड छ। आइपिओ जारी गर्ने कम्पनीको विगतको हिसावकिताव प्रष्ट नहुने र लाभांश दिन पनि कति वर्ष लाग्ने भन्ने टुंगो नहुने भएकाले सूचीकृत कम्पनी किन्नेलाई त्यो भ्रममा रहनुपर्ने बाध्यता नपर्ने उनले बताए।
‘सूचीकृतको वित्तीय स्थिति प्रत्येक त्रैमासमा हेर्न र तुलना गर्न सकिन्छ, विगतको लाभांश पनि हेर्न सकिन्छ’ उनले भने ‘तर नयाँले कहिले कति दिन्छ भन्ने कुरा अनुमान मात्रै गर्ने हो।’