नेप्से करिब १३ महिनायताकै न्यून विन्दुमा झरेको छ। सोमबार ७ अंकले झरेको नेप्से १२ सय ७७ अंकमा कायम भएको छ। यो २०७३ फागुन ३ यताकै सबैभन्दा न्यून विन्दु हो। गत वर्षको फागुन ३ गते १२७४ अंकमा नेप्से कायम भएको थियो।
कुल १५४ कम्पनीको ३१ करोड ३१ लाख रुपैयाँको कारोबार भयो। बजारको पुँजीकरण १४ खर्ब ९५ अर्ब कायम भएको छ। यस दिन उत्पादनबाहेकका सबै उपसूचक घटेका छन्।
उत्पादन २० अंकले बढेको छ। बैंकिङ ७, होटल ३५, विकास बैंक १, जलविद्युत १३, फाइनान्स ३, बिमा ६, अन्य ४ र माइक्रोफाइनान्स १९ अंकले घटे।
कारोबारका आधारमा एभरेष्ट बैंक अग्रस्थानमा रह्यो। उसको १ करोड ५२ लाखको कारोबार भयो। मूल्य प्रतिकित्ता ७४१ कायम भएके छ।
नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ४७ लाखको कारोबार भयो। एनआइसी एसियाको १ करोड ४४ लाखको कारोबार हुँदा नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ३१ लाखको सेयर किनबेच भयो।
संग्रिला विकास बैंकका लगानीकर्ताको मूल्य सबैभन्दा धेरै ७ प्रतिशतले बढेको छ। काबेली विकास बैंक तथा महिला सहयात्रा माइक्रोफाइनान्सका लगानीकर्ताले ५ प्रतिशत गुमाए।
यसैबीच कुवेर मर्चेन्ट फाइनान्सको नाम परिवर्तन भई सिटी एक्सप्रेस फाइनान्स कम्पनी कायम गरिएको छ। उसलाई सिइएफएल कोड दिइएको छ।