दोस्रो बजारमा नेसनल हाइड्रोपावरको मूल्य आइपिओकोभन्दा तल झरेको छ।
कम्पनीको आइतबार बजार बन्द हुँदा मूल्य प्रतिकित्ता ९८ रुपैयाँ कायम भएको छ। १ सय रुपैयाँका दरले आइपिओ जारी गरेको कम्पनीको यो मूल्य हालसम्मकै कम हो।
घटेको बजारका बाबजुत कम्पनीको वित्तीय स्थिति समेत नाजुक बन्दै गएपछि मूल्य आइपिओभन्दा तल झरेको हो। निरन्तरको ओरालो बजारसँगै कम्पनीको मूल्य घटिरहेको छ।
आइपिओप्रति आकर्षण बढिरहेका बेला कम्पनीको मूल्यले सर्वसाधारण लगानीकर्तालाई समेत झस्क्याएको छ।
वित्तीय विवरणअनुसार दोस्रो त्रैमाससम्म कम्पनी ९७ लाख रुपैयाँ घाटामा छ। प्रतिसेयर आम्दानी २ रुपैयाँ ८१ पैसा ऋणात्मक छ। प्रतिसेयर कुल सम्पत्तिको मूल्य ८२ रुपैयाँ ६६ पैसा छ भने नेटवर्थ ६९ रुपैयाँ छ।
त्यस्तै बुटवल पावर कम्पनीको मूल्य एफपिओमाभन्दा तल ओर्लिरहेको छ। प्रतिकित्ता ५०१ रुपैयाँमा जारी भएको एफपिओ बाँडफाँड भएको छैन। बजारमा मूल्य ४८५ मा झरिसकेको छ।