सिआस्बा प्रणाली सफल भएको छ। यही प्रणालीमार्फत आरम्भ माइक्रोफाइनान्सको आइपिओमा आवेदन लिइएको थियो। सिआस्बापछि पहिलो पटक उसको आइपिओ दुई दिनमै बाँडफाँड भएको छ।
सिआस्बा पूर्ण रुपमा सफल भएको सिडिएस एण्ड क्लियरिङले जनाएको छ। कम्पनीको आइपिओ बिक्री बन्द भएको दुई दिनमै बाँडफाँड भएको छ। आइपिओ बिक्रीमा सोमबार आवेदन बन्द भएकोमा बुधबार बाँडफाँड भएको हो।
सिडिएससीले अब हरेक आइपिओ तथा एफपिओ एक साताभित्रै बाँडफाँड हुने जनाएको छ। प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले सिआस्बा अवलम्वन भइसकेपछि एक साताभित्रै बाँडफाँड हुने जानकारी दिए।
त्यस्तै धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले भारतमा ६ दिनमै बाँडफाँड हुने गरेकोमा आरम्भको नतिजाले नेपाल झनै अगाडि देखिएको उल्लेख गरे।
‘पूर्ण रुपमा यो प्रणाली सफल भएकाले अब जुनसुकै कम्पनीको आइपिओ बढीमा एक सातामै बाँडफाँड हुन्छ’ उनले भने। सिआस्बामा रकम बैंकमा र आवेदन बिक्री प्रवन्धककोमा एकीकृत भई जाने भएकाले यसमा बिक्री प्रवन्धकले डिम्याट खाता रुजु गरिरहनु पर्ने हुँदैन।
डिम्याट खाता गलत भएमा आवेदन नै स्वीकृत हुँदैन। जसका कारण बाँडफाँड चाँडो हुने सिडिएससीले जनाएको छ। आरम्भ माइक्रोफाइनानान्सले कुल २ लाख ९४ हजार कित्ता आइपिओ जारी गरेको थियो। जसमा ८ हजार ८२० कर्मचारी तथा १४ हजार ७ सय कित्ता म्युचुअल फण्डहरुलाई छुट्याइएको थियो।
कुल १ लाख ८५ हजार ६५३ स्वीकृत आवेदकले १ करोड १८ लाख कित्ता माग गरेका थिए। तिमध्ये २७ हजार ४८ जनाले १० कित्ताका दरले आइपिओ पाएको बिक्री प्रवन्धकले जनाएको छ।