बिहिबारदेखि निरन्तर ओरालो लागेको सेयर बजारको परिसूचक नेप्सेमा आज करिब ९ अंकको सुधार आएको छ। आजको कारोबारपछि नेप्से १२९६ अंकमा कायम भएको छ।
कारोबार सुरु भएपछि दुई घण्टासम्म ओरालो लागेको परिसूचक १२ सय ६७ अंकसम्म झरेको थियो। सो अंकमा टेवा पाई ५० मिनेटसम्म उकालो लागेको थियो।
त्यतिबेला नेप्से १३०५ अंकसम्म पुग्यो। पुनः खस्किएको नेप्से १२ सय ८४ अंकमा टेवा पाएर उक्लिँदा अन्ततः अघिल्लो दिनको तुलनामा ८ दशमलव ७ अंकले बढेर बन्द भयो।
यस दिन १६४ कम्पनीको ४७ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भयो। कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन ३९ करोडको कारोबार भएको थियो। होटल ६९ र अन्य ५ अंकले घटे पनि अरु उपसुचकहरु बढेका छन्।
बैंकिङ १०, ब्यापार २, विकास बैंक १९, हाइड्रोपावर २२, फाइनान्स १, इन्स्योरेन्स ३४, उत्पादन ११ र माइक्रोफाइनान्स १९ अंकले बढेका छन्।
यस दिन नेपाल लाइफ इन्स्योरेन्सको सबै भन्दा धेरै रकमको कारोबार भयो। उसको २ करोड ५२ लाख रुपैयाँको सेयर किनबेच भयो। त्यस्तै धेरै रकमको कारोबार गर्नेमा सानिमा बैंक पनि अगाडि रह्यो। उसको २ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भयो।
धेरै नाफा कमाउनेमा सुर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहे। उनीहरुले सबै भन्दा धेरै ९ प्रतिशत मूल्य कमाए। त्यस्तै धेरै कमाउनेमा नागबेली लघुवित्त बिकास बैंक पनि अगाडि देखिए।
ओरिएन्टल होटलका लगानीकर्ताले सबै भन्दा धेरै ९ प्रतिशत गुमाए। त्यस्तै वल्र्ड मर्चेन्ट बैंक एण्ड फाइनान्सका लगानीकर्ताले ६.७ प्रतिशतले गुमाए।