बुधबार सेयर बजारमा बुटवल पावर कम्पनीको सबैभन्दा धेरै रकमको कारोबार भएको छ।
कुल १५६ कम्पनीको ३१ करोड १५ लाखको सेयर कारोबार भएकोमा बुटवलको मात्रै २ करोड ४२ लाखको किनबेच भयो।
हाल एफपिओ निश्कासन गरिरहेको कम्पनीको एकाएक कारोबार बढेको छ। समग्र नेप्से बढ्दा पनि बिक्री गर्नेले सस्तो मूल्यमै हतारिएर बेच्न थालेपछि कारोबार बढेको हो। आज उसको प्रतिकित्ता मूल्य १६ रुपैयाँले घटेर ५१७ कायम भयो।
कम्पनीले आइपिओ जारी नगरी एफपिओ निकालेकाले विवादित बन्न सक्ने कतिपयको अनुमान छ।
कमजोर वित्तीय अवस्थाका बाबजुत कम्पनीले ४० लाख ८१ हजार कित्ता एफपिओ बिक्री खुलाइरहेको छ। एफपिओ बिक्री भइसकेपछि कम्पनीको आपूर्ति बढ्ने र त्यसले मूल्य घट्ने अनुमान लगाउँदै बेच्नेहरु घटाएरै भए पनि बेच्न हतारिएका छन्।
त्यस्तै केही भएको सेयर पनि ६ सय रुपैयाँभन्दा बढीमा बेचेर ५०१ रुपैयाँका दरले एफपिओमा आवेदन दिई जोखिम घटाउनेतिर लागे।
समग्र नेप्से परिसूचक २. २६ अंकले बढेको छ। सो अंकको वृद्धिपछि १४०४ अंकमा नेप्से अडेको छ। जलविद्युत, उत्पादन र अन्य समूह घटे। जलविद्युत ८, उत्पादन ३, अन्य ५ अंकले घटे।
बैंकिङ १, व्यापार ४, होटल ३५, विकास बैंक १०, फाइनान्स ५, माइक्रोफाइनान्स ८ र बिमा ३१ अंकले बढेका छन्।
बुटवल पावरपछि सानिमा माइ हाइड्रोको २ करोड २२ लाखको कारोबार भयो। नेपाल लाइफ तथा एनएलजी इन्स्योरेन्स पनि कारोबारमा अगाडि देखिए।
ङादी पावर तथा लुम्बिनी विकास बैंकका लगानीकर्ताले ३ प्रतिशत गुमाए। बुटवल पावरको मूल्य २. ५ प्रतिशतले घटेको छ।
नेपाल इन्स्योरेन्सका लगानीकर्ताले ७. ९ प्रतिशत नाफा कमाए।