आइतबारको सेयर बजारमा बैंकिङ समूहको प्रभावले समग्र नेप्से उक्लेको छ। बैंकिङ समूह ५.९ अंकले बढेपछि नेप्से १. ४ अंकमा हरियो अंकमा रह्यो।
कुल १५८ कम्पनीको ३५ करोड ४७ लाख रुपैयाँको सेयर किनबेच भयो। बजारको पुँजीकरण १६ खर्ब ४३ अर्ब कायम भएको छ।
यस दिन बैंकिङ र विकास बैंकबाहेकका सबै समूह ओर्लिएका छन्। विकास बैंक ४ अंकले बढेको छ। व्यापार १०, होटल २८, जलविद्युत १६, फाइनान्स २, बिमा १२, उत्पादन ९, अन्य ३ र माइक्रोफाइनान्स ५ अंकले ओर्लिए।
सानिमा माइ हाइड्रोको सबैभन्दा धेरै रकमको सेयर कारोबार भयो। सो कम्पनीको २ करोड ६८ लाख रुपैयाँको कारोबार हुँदा दोस्रोमा रहेको कृषि विकास बैंकको २ करोडको किनबेच भयो।
नेपाल लाइफ इन्स्योरेन्स, नेपाल बैंक र हिमालय पावर पार्टनर पनि कारोबारका आधारमा अगाडि देखिए। एनएमबि बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ३.५ प्रतिशत नाफा कमाए।
कम्पनीले आकर्षक दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेपछि एनएमबिमा लगानीकर्ता आकर्षित भए। कम्पनीले यस अवधिसम्म १ अर्ब ७२ लाख खुद नाफा कमाएको छ। वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स तथा लक्ष्मी बैंकको मूल्य पनि ३ प्रतिशतले बढेको छ।
सिन्धु विकास बैंक तथा विशाल बजारका लगानीकर्ताले सबैभन्दा धेरै ६ प्रतिशत मूल्य गुमाए। यसैबीच लक्ष्मी, ग्लोबल आइएमई बैंक, सिद्धार्थ इन्स्योरेन्स तथा काबेली विकास बैंकको बोनस सेयर बजारमा सूचीकृत भएको छ।