नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आवको दोस्रो त्रैमाससम्म १ अर्ब ८३ करोड खुद नाफा कमाएको छ।
गत आवको यस अवधिमा कम्पनीको नाफा १ अर्ब ५८ करोड थियो। एक वर्षको तुलनात्मक अवधिमा बैंकले २५ करोडले नाफा बढाएको छ। पहिलो त्रैमासिक अवधिमा निजी क्षेत्रका बाणिज्य बैंकमध्ये इन्भेष्टमेन्टले सबैभन्दा धेरै नाफा कमाएको थियो।
बैंकको खुद व्याज र संचालन आम्दानी समेत बढेपछि खुद नाफामा प्रभाव परेको छ। बैंकको व्याजवापतको खुद आम्दानी ३६ करोडले बढेर २ अर्ब ६८ करोड छ। त्यस्तै संचालन आम्दानी ४४ करोडले बढेर ३ अर्ब ६६ करोड छ।
वाणिज्य बैंकमध्ये यसको सबैभन्दा धेरै चुक्ता पुँजी छ। १० अर्ब ६२ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषको आकार ९ अर्ब ९१ करोड छ।
बैंकहरुमा लगानीयोग्य रकमको अभाव भइरहँदा उसको सिडी रेसियो ७८ दशमलव ४७ प्रतिशत छ। अर्थात थप ऋण लगानीका लागि पनि बैंकलाई ठूलो चुनौति देखिँदैन।
बैंकले कुल १ खर्ब १३ अर्ब कर्जा प्रवाह गरेको छ। गत वर्षको यस अवधिसम्म यो ९६ अर्ब थियो। ओभरड्राफ्ट प्रकृतिको कर्जा सबैभन्दा धेरै ६३ अर्ब छ।
बैंकको निश्क्रिय कर्जाको दर पनि केही बढेको छ। गत आवको दोस्रो त्रैमाससम्म ० दशमव ७ प्रतिशत यस्तो कर्जा रहेकोमा यस वर्ष १ दशमलव १२ प्रतिशत पुगेको छ। अर्थात बैंकले खराव कर्जालाई सन्तुलनमा राख्नुपर्ने चुनौति बढेको छ।
बैंकको आधार व्याजदर ९ प्रतिशत छ। आधार व्याजदर गत वर्षभन्दा ३ दशमलव ४ प्रतिशत बढी हो।
सेयर लगानी प्रतिफलमूलकतुलनात्मक रुपमा यस बैंकको सेयरमा लगानी प्रतिफलमूलक देखिन्छ। कम्पनीको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ छ। बजारमा उसको मूल्य साढे ६ सय रुपैयाँको हाराहारीमा छ।
कम्पनीको मूल्य आम्दानी अनुपात २० भन्दा तल रहनुले तुलनात्मक रुपमा लगानी प्रतिफलमूलक देखाउँछ। यस्तो अनुपात १८ दशमलव ९ प्रतिशत छ। बजार मूल्यलाई प्रतिसेयर आम्दानीले भाग गरेपछि कम्पनीको मूल्य आम्दानी अनुपात निकाल्न सकिन्छ।
गत वर्षको नाफाबाट कम्पनीले ४० प्रतिशत लाभांश दिएको थियो। जसमा १५ प्रतिशत बोनस तथा २५ प्रतिशत नगद लाभांश थियो।
बैंकको अधिकृत पुँजी १५ अर्ब रहनु र जगेडा कोषको आकार मजबुत भएकाले आगामी दिनमा पनि राम्रै बोनस दिन सक्ने अनुमान गर्न सकिन्छ।
कम्पनीको खुद सम्पत्ति मूल्य १९२ रुपैयाँ छ।