प्राथमिक निश्कासनकै मूल्यमा दोस्रो बजारमा म्युचुअल फण्ड पाइन थालेको छ। अझ केहीको त प्राथमिक बजारमा भन्दा सस्तो पर्ने गरेको छ। अंकित मूल्य प्रतिइकाई १० रुपैयाँमा निश्कासन भएका फण्ड दोस्रो बजारमा पनि लगानीकर्ताले त्यत्तिमै बेच्न थालेका छन्।
समग्र सेयर बजार ओरालो लागेपछि म्युचुअल फण्डका लगानीकर्ताले पनि आत्तिएर अंकित मूल्य वा सोभन्दा तल झरेर बेच्ने गरेको पाइन्छ।
लक्ष्मी इक्वीटी फण्ड, एनआइबिएल प्रगति फण्ड र एनएमबि हाइब्रिड फण्डको बुधबार बजारमै प्रतिइकाई १० रुपैयाँमा कारोबार भएको छ। त्यस्तै ग्लोबल आइएमई समुन्नत १को प्रतिइकाई ९ रुपैयाँ ९० पैसामा बुधबार कारोबार भयो।
दोस्रो बजारमै म्युचुअल फण्ड अंकित मूल्यभन्दा सस्तिएपछि प्राथमिक बजारमा समेत यसप्रति आकर्षण घटेको छ। हालै खुलेको ‘सिटिजन्स म्युचुअल फण्ड १’ होस् या ‘एनआईसी एसिया ग्रोथ फण्ड’ दुवैमा पर्याप्त आवेदन नपरेपछि बन्द हुने अवधि पनि थपिएको छ।
सिटिजन्सले १० दिनको अवधि थपेर माघ १७ गतेसम्म कायम गरेको छ भने एनआइसीले १२ दिन थपेर २१ गतेसम्मको अवधि राखेको छ।सिबिआइएल क्यापिटलका पोर्टफोलियो म्यानेजमेन्ट अधिकृत अनुज दुलालले तरलता अभावले यतिबेला म्यचुअल फण्डमा आकर्षण घटेको बताए।
‘साना सर्वसाधारण लगानीकर्ताबाट पर्याप्त संख्यामा आवेदन परे पनि अहिलेको व्याजदर उच्च हुँदा ठूला संस्थागत लगानीकर्ताको आकर्षण घटेको देखियो’ सेतोपाटीसितको कुराकानीमा उनले भने। संस्थागत लगानीकर्ताले उच्च व्याजदरमै रकम लगानी गरेपछि फण्डप्रति आकर्षण घटेको हुन सक्ने उनको भनाइ छ।
एकै पटक दुई योजनाको बिक्री खुल्ला भएकाले पनि आवेदन कम परेको हुन सक्ने उनको बुझाई छ। सेयर बजारको गिरावटले पनि केही हदसम्म फण्डहरुमा आकर्षण घटेको हुन सक्ने उनले बताए।
‘हाम्रो करिब ८५ प्रतिशत फण्ड इक्वीटीमै लगानी हुने हो, बजार घटिरहँदा सर्वसाधारणमा आशंका बढेको हुन सक्छ’ उनले भने ‘यद्यपी लामो अवधिको लगानी हुने भएकाले अहिलेको बजार घटाईले यसमा असर पर्दैन, बरु घटेका बेला किनिने भएकाले राम्रै हुन्छ।’
यसअघिका फण्डमा तोकिएकै अवधिमा मागभन्दा कैयौं गुणा बढी आवेदन पर्ने गरेकोमा अहिले खुलेका फण्डमा भने मागअनुसारको आवेदन नपरेपछि समय थपिएको छ।
सेयर बजार र म्युचुअल फण्डको सम्वन्ध सुल्टो हुने भएकाले बजार घट्दा फण्डको मूल्य पनि स्वभाविक रुपमा घट्ने विज्ञहरु बताउँछन्। ‘बजार निरन्तर घटेकाले स्वभाविक रुपमा केही योजनाहरुको मूल्य घटेको हो, कारोबार मूल्यभन्दा पनि खुद सम्पत्ति मूल्य हेर्नु जरुरी हुन्छ’ एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सृजेश घिमिरेले भने।
भरपुर विज्ञताको प्रयोग गरेर फण्डको रकम परिचालन हुने बताइरहँदा पनि केहीको खुद सम्पत्ति मूल्य १० रुपैयाँभन्दा तल झर्नुले सर्वसाधारण लगानीकर्तामा यस्ता फण्डप्रति विश्वास घट्न सक्ने विश्लेषण गरिएको छ।
क्षणिक रुपमा फण्डको मूल्य घट्दैमा विज्ञता नै फेल खाएको भन्न नमिल्ने उनको तर्क छ। ‘हामीले लगानी गर्ने दिर्घकालीन अवधिका लागि हो, क्षणिक रुपमा मूल्य घट्दैमा लगानीकर्ता आत्तिनु पर्दैन’ उनले भने।
यद्यपी सेयर बजार बढ्दै गएमा यी फण्डको मूल्य मात्रै नभई खुद सम्पत्ति मूल्य पनि स्वभाविक रुपमा बढ्न जानेछ।
अहिले खुलेका म्युचुअल फण्ड नयाँ योजना व्यवस्थापनमा भएकाले पनि सर्वसाधारणमा केही अन्यौलता भएको हुन सक्ने उनले बताए। ‘व्यवस्थापकका विगतका योजनामा आएको प्रतिफल हेरेर पनि लगानी गर्नेहरु हुन्छन्, तर यी दुवै व्यवस्थापकले यसअघि कुनै योजना जारी नगरेकाले पनि केही शंका हुन सक्छ’ घिमिरेले भने।