नेप्सेको ओरालो यात्रामा 'ब्रेक' लागेको छ। गत पुस २५ गतेयता निरन्तर घटिरहेको नेप्सेमा बुधबार ब्रेक लागेसँगै लगानीकर्ता आशावादी देखिएका छन्।
यस दिन १ दशमलव ६९ अंकले नेप्से बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक १३९४ अंकमा कायम भएको छ। आज दिनभरको कारोबारमा १३९१ सम्म नेप्से झरेको थियो।
यसअघि पुस १६ गते १३९० अंकसम्म झरेर उथलपुथल देखिएको ट्रेण्डले सोही अंकबाट दरिलो टेवा पाउने संकेत देखाएको छ। कारोबार सुरु भएको २० मिनेटमै नेप्से १३९७ अंकसम्म पुगेको थियो। जुन अंक आजका लागि उच्चतम रहन पुग्यो।
बजारमा कारोबार रकम भने घटेको छ। कुल १५६ कम्पनीको २६ करोड १५ लाख रुपैयाँको सेयर किनबेच भयो। यस दिन फाइनान्स, उत्पादन र माइक्रोफाइनान्स उपसूचक रातो अंकमा रहे भने अरु सबै हरियो अंकमा देखिए। फाइनान्स ०.७, उत्पादन २६ र माइक्रोफाइनान्स २ अंकमा घटे।
यस दिन बैंकिङ ०.३, व्यापार ४, होटल १४, विकास बैंक ७, जलविद्युत ३, बिमा १६ र अन्य समूह ५ अंकले बढे। कारोबारका आधारमा नेपाल फाइनान्सको संस्थापक सेयर उच्च रह्यो। सो कम्पनीको ३ करोड ५४ लाखको कारोबार भयो। नविल बैंक, बुटवल पावर, स्टान्डर्ड चार्टड पनि कारोबारका आधारमा अग्रस्थानमा रहे।
एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले ५ प्रतिशत मूल्य कमाए। सिन्धु विकास बैंकको मूल्य ४ प्रतिशत बढ्यो। हिमालयन डिस्टिलरीका लगानीकर्ताले ५ प्रतिशत गुमाए।