आइपिओ, एफपिओ तथा हकप्रद सेयरमा अब घरमै बसेर आवेदन पाइने भएको छ।
एक वर्षअघिसम्म बिक्री प्रवन्धक तथा तोकिएका केन्द्रमा लामो लाइन बसेर आवेदन दिनुपर्ने बाध्यता रहेकोमा गत साउनदेखि आफ्नो खाता भएको बैंकबाटै आस्बा प्रणालीमार्फत भर्ने व्यवस्था मिलाइएको थियो।
यसलाई थप परिमार्जित गरेर अब भने घरबाटै आवेदन दिन पाइने व्यवस्था गरिन लागेको हो। सिडिएस एण्ड क्लियरिङले सि–आस्बा प्रणाली अनिवार्य रुपमा लागू गरेसँगै लगानीकर्तालाई अब खुल्ने जुनसुकै आइपिओ तथा एफपिओमा सहजता भएको छ।
सिडिएसका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले अब खुल्ने जुनसुकै कम्पनीको आइपिओ तथा एफपिओमा सिआस्बा अनिवार्य भएको जानकारी दिए। सिआस्बा बाहेक अन्य परम्परागत प्रणालीबाट आवेदन स्वीकृत नहुने गुप्ताले स्पष्ट पारे।
यो प्रणाली लागू भएपछि खाता भएको बैंकमा धाउनुपर्ने अवस्था समेत अन्त्य भएको छ। त्यस्तै हितग्राही (डिम्याट खाता) गल्ती भएर आवेदन रद्द हुन सक्ने अवस्था समेत यसले अन्त्य हुने सिडिएसले जनाएको छ।
हालसम्म विभिन्न २५ वटा बैंक तथा वित्तीय संस्थाहरु सिआस्बा प्रणालीमा संलग्न छन्। ति बैंक तथा वित्तीय संस्थामा खाता हुनेहरुले घरमै बसेर आवेदन दिन सक्दछन्। यसका लागि लगानीकर्ताले सम्वन्धित बैंकबाट सिआस्बा रजिष्ट्रेसन नम्वर (सिआरएन) लिनुपर्दछ।
सो नम्वर भइसकेपछि ‘मेरो सेयर’मार्फत इन्टरनेटको माध्यमबाट आवेदन दिन सकिनेछ। सिडिएसको वेबसाइटमा गई ‘मेरो सेयर’ क्लिक गरी आवेदन भर्नुपर्नेछ। आवेदन दिइसकेपछि सेयर बाँडफाँड नहुन्जेलसम्म तोकिएको रकम खातामै ब्लक हुनेछ।
तिबाहेक अन्य बैंक तथा वित्तीय संस्थालाई पनि सिआस्बामा सहभागी हुन निर्देशन दिइसकिएको प्रमुख कार्यकारी अधिकृत गुप्ताले बताए। ‘उहाँहरुले अब सिआस्बाको सेवा नदिई सुख छैन, केही घण्टामै हुने कामका लागि बाँकी रहेका बैंक तथा वित्तीय संस्थाहरुले ढिलाई गर्नु हुँदैन।’
सिआस्बामा नगएका बैंक तथा वित्तीय संस्थाहरुमा खाता हुने लगानीकर्ता समेत अब आवेदन भर्नबाट वञ्चित हुनुपर्ने छ। सिआस्बामा आवेदकले दिएको आवेदन सिधै बिक्री प्रवन्धकलाई सफ्टवेयरमार्फत प्राप्त हुने भएकाले यसबाट सेयर बाँडफाँड समेत चाँडो हुने अधिकृत गुप्ताले जानकारी दिए।
यद्यपी पुरानो ऐनका कारण बाँडफाँडमा बिक्री प्रवन्धकलाई ढिलाई गर्ने वातावरण बनेको उनले बताए। ‘यो प्रणाली अनिवार्य भइसकेकाले अब एक हप्तामै बाँडफाँड गर्न सकिने अवस्था आएको छ’ उनले भने ‘तर ऐन संशोधन गरेर अघि बढ्नुपर्ने अवस्था देखिएको छ।’
ऐन संशोधनका लागि धितोपत्र बोर्डलाई औपचारिक रुपमा आग्रह गरिसकेको सिडिएसले जनाएको छ। पुरानो ऐनमा सेयर आवेदक तथा रकमअनुसार ३५ दिनको अवधिसम्म बाँडफाँड गर्न सक्ने व्यवस्था छ।
जसले गर्दा बिक्री प्रवन्धकलाई छोटो अवधिमै बाँडफाँड गर्नुपर्ने बाध्यता नरहँदा ढिलाई हुन सक्ने सिडिएसको चिन्ता छ।
के हो सिआस्बा ?‘सेन्ट्रलाइज्ड आस्बा’लाई छोटकरीमा सिआस्बा भन्ने गरिएको छ। आस्बाको पुरा रुप ‘एप्लिकेसन सपोर्टेड बाई ब्लक्ड एमाउन्ट’ हो। जुन साउनदेखि नै अनिवार्य रुपमा लागू भइसकेको छ।
लगानीकर्ताले विभिन्न बैंकबाट आवेदन दिएपछि खातामा तोकिएको रकम ब्लक हुने र आवेदन एकीकृत भई बिक्री प्रवन्धकले पाउने भएकाले यसलाई सिआस्बा प्रणाली भनिएको हो। यो प्रणालीमा बाँडफाँड भइसकेपछि सेयर नपरेको रकम खातामै फूकुवा हुनेछ।
यी हुन् सिआस्बामा सहभागी भएका बैंक तथा वित्तीय संस्थाहरु