अब सेयर कारोबार गर्नेहरुको ब्रोकर कम्पनीहरुले विस्तृत विवरण राख्नुपर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले बजारलाई पारदर्शी बनाउन भन्दै केवाइसी फारममा भर्नुपर्ने विवरण थप गरेको छ।
हालसम्म सेयर कारोबार गर्दा ब्रोकरहरुले ग्राहकको मात्रै सामान्य विवरण राख्ने गरेकोमा अव विस्तृत राख्नुपर्ने गरी बोर्डले निर्देशन जारी गरेको छ।
अब ब्रोकर कम्पनीले ग्राहकको परिवारका सदस्यहरुको विवरण, पेशागत विवरण, ग्राहक बस्ने स्थानको नक्सा, इन्भेष्टमेन्ट कम्पनीमा संलग्न भए नभएको लगायतका विवरण लिनुपर्नेछ।
त्यस्तै सम्पत्ति सुद्धीकरणसम्वन्धी प्रचलित कानून विपरित आर्जन नगरेको उद्घोष ग्राहकले गर्नुपर्नेछ। त्यस्तै कम्पनी वा संस्थागत लगानीकर्ताको हकमा दर्ता सम्वन्धी विस्तृत विवरण, सम्पर्क व्यक्तिहरुको तीनपुस्ते विवरणहरु पनि ब्रोकर कम्पनीहरुले राख्नुपर्ने भएको छ।
यसबाट बजारमा पारदर्शिता थपिने भन्दै बोर्डले विस्तृतमा केवाईसी फारम भर्न लगानीकर्ताहरुलाई पनि आग्रह गरेको छ। यसअघि नक्कली सेयर कारोबारमा संलग्न भएको तथा कारोबारीको विस्तृत विवरण नराखेको आरोपमा केही ब्रोकर कम्पनीलाई बोर्डले कारबाही समेत गरेको थियो। कारोबार गर्नेविरुद्ध अदालतमा हालेको मुद्दा अहिलेसम्म विचाराधिन छ।