अब जुनसुकै बैंकमा खाता भए पनि पैसा जम्मा गर्न त्यही बैंकको शाखामा जानुपर्ने बाध्यता हट्ने भएको छ।
नजिकै भएको अर्को कुनै बैंकको शाखामार्फत पनि आफ्नो खातामा पैसा जम्मा गर्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था लागू गर्न सबै बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन गरेको छ।
परिपत्र जारी गर्दै उसले भनेको छ ‘जुनसुकै बैंक तथा वित्तीय संस्थाका शाखाबाट आफ्नो खातामा नगद जम्मा हुनेगी एनसिएचएल आइपिएस प्रणाली कार्यान्वयन गर्नुपर्नेछ।’
विद्यमान सीमाभित्रकै सुरक्षा प्रणाली अपनाएर यसरी नगद जम्मा गर्न सकिनेछ। ग्राहकको पहिचान तथा पुष्टि हुन सक्ने विवरण हालको व्यवस्था बमोजिम नै बैंकहरुले राख्नुपर्नेछ। एक लाखभन्दा बढी जम्मा गर्दा जम्मा गर्नेको परिचयपत्रको प्रतिलिपी र प्रयोजन खुलेको हुनुपर्नेछ।
भौचरमा खाता रहेको बैंकको नाम, शाखा, खाता नम्वर, खातावालाको नाम, जम्मा गर्ने व्यक्तिको नाम र रकमको विवरण उल्लेख हुनुपर्नेछ।
यसरी जम्मा गरेको रकमको निस्सा अहिलेजस्तै गरी बैंकहरुले दिनुपर्नेछ। यसरी अर्को बैंकबाट रकम जम्मा गर्दा लाग्नसक्ने शुल्कबारे पहिले नै ग्राहकलाई जानकारी गराउन राष्ट्र बैंकले भनेको छ। शुल्कको सम्वन्धमा भने बैंकहरुलाई नै अधिकार दिइएको छ।