यस साता नेप्से परिसूचक २४ अंकले खस्किएको छ। पहिलो दिन आइतबार १४३१ अंकमा रहेको नेप्से अन्तिम दिन १४०६ अंकमा कायम भएको छ। अघिल्लो साता बजार बन्द हुँदा १४४० अंकमा थियो।
यो साता तीन दिन मात्रै खुलेको बजारमा १७० कम्पनीहरुको एक अर्ब नौ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो। कारोबार रकम गत साताको भन्दा ३५.९८ प्रतिशत कम हो।
साताभर सबै उपसूचक ओर्लिएका छन्। वाणिज्य बैंक १९, विकास बैंक २३, वित्त ६, माइक्रोफाइनान्स १३, जलविद्युत ११५, बिमा ८९, उत्पादनमूलक ५, व्यापार २ र अन्य उपसूचक १९ अंकले ओर्लिए।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ५.३४ अंकले
घट्यो।
यस साता कारोबार रकम (१९ करोड आठ लाख १० हजार रुपैयाँ) को आधारमा सानिमा माई हाईड्रोपावर अग्रस्थानमा रहेको छ। नविल बैंक दोस्रोमा र नेपाल लाइफ इन्स्योरेन्स तेस्रो स्थानमा रहे।
त्यसैगरी कारोबार भएको सेयर संख्या (चार लाख ४७ हजार कित्ता) र कारोबार संख्या (११८४ वटा) को आधारमा पनि सानिमा माई हाईड्रोपावर लिमिटेड अग्रस्थानमा रहेको छ।