शिवम सिमेन्टले प्रिमियम मूल्य थपेर ५२ लाख ८० हजार कित्ता आइपिओ निश्कासन गर्ने भएको छ।
कम्पनीले विशेष साधारणसभा बोलाउन जारी गरेको सूचनामा सो कुराको उल्लेख गरिएको छ। प्रभावित स्थानीयका लागि समेत सर्वसाधारणतर्फको सेयर कम्पनीले जारी गर्नेछ।
हालसम्म आइपिओ अंकित मूल्य एक सयमै जारी हुँदै आएको कम्पनीले पहिलो पटक प्रिमियममा जारी गर्ने भएको हो। धितोपत्र बोर्डले उत्पादनमूलक क्षेत्रलाई प्रिमियम रकम थप गरेर आइपिओ जारी गर्न सक्ने व्यवस्था गरेसँगै शिवमले तयारी थालेको हो। देशमा ५० भन्दा बढी सिमेन्ट उद्योगहरु रहे पनि आजसम्म कसैले सर्वसाधारणलाई सेयर जारी गरेका छैनन्।
आगामी माघ २१ गते हुने विशेष साधारणसभामा आइपिओ जारी गर्ने प्रस्ताव कम्पनीले लैजाँदैछ। कम्पनीको जारी पुँजी ४ अर्ब ३० करोड रहेकोमा सोलाई वृद्धि गरी ४ अर्ब ४० करोड कायम हुन आउने जारी पुँजी बमोजिम प्रवन्धपत्रको दफामा आवश्यक संशोधन गर्ने कम्पनीले जनाएको छ।