चालु आर्थिक वर्षको पाँच महिनामा मुलुकको शोधनान्तर स्थिति ९ अर्ब २७ करोडले घाटामा देखिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पाँच महिनाको वित्तीय अवस्थाअनुसार शोधनान्तरमा चाप बढेको छ। चौथो महिनासम्म २ अर्ब ४० करोडले बचतमा रहेको मुलुक एक महिनाकै अवधिमा ९ अर्ब २७ करोडले घाटामा गएको हो। मुलुकमा भित्रिनेभन्दा बाहिरिने रकम बढी हुनुले शोधनान्तर स्थिति घाटामा जाने गर्दछ।
आयातमा भएको उच्च वृद्धि तथा रेमिट्यान्स आप्रवाहमा आएको कमीका कारण शोधनान्तर घाटामा देखिएको राष्ट्र बैंकले औंल्याएको छ। पाँच महिनाको आर्थिक परिदृष्यको व्याख्या गर्दै राष्ट्र बैंकले भनेको छ ‘व्यापार घाटा र रेमिट्यान्सको प्रभावले चालु खाता घाटा ४१ अर्ब ९५ करोड पुग्दा शोधनान्तर घाटामा गएको हो, तथापी देशको वैदेशिक मुद्रा संचिती सुविधाजनक अवस्थामा रहेकाले वाह्य क्षेत्र स्थायित्व सबल अवस्थामै छ।’
पाँच महिनामा पुँजीगत ट्रान्सफर ८ अर्ब ८६ करोड पुगेको छ। यो रकम उच्च हुँदा समग्र शोधनान्तरको ऋणात्मक आकार ठूलो हुन पुगेको हो।
राष्ट्र बैंकका अनुसार गत आवको पाँच महिनाको तुलनामा यस आवको सोही अवधिमा रेमिट्यान्स ० दशमलव ८ प्रतिशतले घटेको छ। पाँच महिनासम्म २ खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रिएको बैंकको तथ्याङ्क छ। विदेसिने नेपाली नै यस अवधिमा साढे २ प्रतिशतले घटेकाले रेमिट्यान्समा असर परेको उसले औंल्याएको छ।
बैंकका अनुसार समीक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा वृद्धि भए पनि साउदी, अरेविया र कतार जानेको संख्यामा उल्लेख्य गिरावट आएको छ । गत वर्षको पाँच महिनामा १ लाख ५९ हजार ४३१ ले अन्तिम श्रम स्वीकृति लिई विदेसिएकोमा यो वर्षको सोही अवधिमा १ लाख ५५ हजार ३८१ नेपालीले अन्तिम श्रम स्वीकृति लिएका छन्।
यस आवको पाँच महिनामा व्यापार घाटा १३ प्रतिशतले बढेको छ। बैंकका अनुसार साउनदेखि मंसिरसम्म ३ खर्ब ९७ अर्ब रुपैयाँ व्यापार घाटा पुगेको छ। समीक्षा अवधिमा निर्यात १० प्रतिशतले बढ्दा आयात भने १२. ८ प्रतिशतले बढेको छ। बैंकका अनुसार पाँच महिनामा ३३ अर्ब ७० करोडको सामान निर्यात हुँदा ४ खर्ब ३१ अर्बको सामान भित्रिएको छ।