दुई कम्पनीको १–१ अर्ब रुपैयाँको म्युचुअल फण्डमा लगानी गर्नका लागि आवेदन खुलेको छ। एनआइसी एसिया र सिटिजन्स बैंकको कोष प्रवद्र्धनमा छुट्टाछुट्टै दुई योजनाको बिक्री खुल्ला भएको हो।
लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँका दरले यी फण्डमा आवेदन दिन सक्ने छन्। १०–१० करोड इकाईको बिक्री खुल्ला भएकोमा दुवैतर्फबाट १५ प्रतिशत कोष प्रवद्र्धकहरुलाई सुरक्षित गरिएको छ।
पछिल्लो समय म्युचुअल फण्डमा आवेदकले भनेजति इकाई समेत नपाउने अवस्था देखिँदै आएका बेला दुई कम्पनीको एकै दिन बिक्री खुल्ला भएपछि लगानीकर्ताले मागेजति नै पाउने संभावना देखिएको छ। आफ्नो खाता भएको आस्बा सदस्य बैंकहरुबाट लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
यस्ता योजनाबाट संकलित रकम सेयर, ऋणपत्र, बैंक निक्षेप तथा राष्ट्र बैंकले जारी गर्ने ट्रेजरी बिल, मुद्रा बजारका अन्य साधनहरुमा लगानी हुने गर्दछ। योजना व्यवस्थापकले गरेको लगानीबाट आएको प्रतिफल इकाइधनीहरुले प्राप्त गर्नेछन्।
दोस्रो बजारमा समेत यी फण्डहरु सूचीकृत हुने भएकाले बीचमै बेच्नु परेको खण्डमा पनि कुनै अप्ठेरो पर्दैन।
एनआइसी एसिया ग्रोथ स्कीमयो ७ वर्षे बन्दमुखी योजना हो। ७ वर्षपछि मात्रै लगानी रकम परिपक्व हुनेछ। चाँडोमा माघ ८ गतेसम्म फण्डमा आवेदन दिन सकिनेछ।
न्यूनतम एक सय इकाई अर्थात १ हजार रुपैयाँको आवेदन दिन सकिनेछ।
अधिकतम २० लाख इकाईसम्म आवेदन दिन सकिने योजना व्यवस्थापक एनआइसी एसिया क्यापिटलले जनाएको छ। इक्रा नेपालबाट यसले ‘ए माइनस’को क्रेडिट रेटिङ पाएको छ।
सिटिजन्स म्युचुअल फण्ड७ वर्षे बन्दमुखी यस योजनालाई इक्रा नेपालले बि प्लसको रेटिङ प्रदान गरेको छ। यसमा चाँडोमा माघ ७ गतेसम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
योजना व्यवस्थापक सिबिआइएल क्यापिटलका अनुसार प्रतिइकाई १० का दरले कम्तीमा १ सय तथा बढीमा २० लाख इकाईका लागि लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
यसअघिका म्युचुअल फण्डमा प्रतिफल कस्तो छ ?हाल बजारमा विभिन्न १२ फण्ड योजनाहरु सूचीकृत छन्। यीमध्ये सिद्धार्थ ग्रोथ स्कीमको ५ वर्षे अवधिको समय सकिएको छ। उसको अन्तिम बजार मूल्य प्रतिइकाई २० रुपैयाँ छ।
यसअघिसम्म उसले विभिन्न वर्षहरुमा गरेर १२५ प्रतिशत लाभांश दिइसकेको छ। अर्थात ५ वर्षअघि १० रुपैयाँ लगानी गर्नेहरुले १२ रुपैयाँ ५० पैसा बुझिसकेका छन् भने अब फेरि २० रुपैयाँको हाराहारीमा नगद पाउने छन्।
अन्य म्युचुअल फण्डको भने अवधि नसकिएकाले आगामी दिनमा कति प्रतिफल दिन्छन् भन्ने एकीन छैन। यद्यपी यसअघि दिएका र अहिलेको खुद सम्पत्ति मूल्य हेर्दा धेरै फण्डको लगानी प्रतिफलमूलक देखिन्छ।
विगत दुई आर्थिक वर्षको प्रतिफल हेर्ने हो भने नविल ब्यालेन्स फण्डले ७२ प्रतिशत लाभांश दिइसकेको छ। एनआइबिएल सम्बृद्धि फण्डले ३३ प्रतिशत, सिद्धार्थ इक्वीटीले ४१, लक्ष्मी भ्यालू फण्डले ५०, एनएमबि सुलभ फण्डले ४१ प्रतिशत नगद लाभांश दिइसकेका छन्। अहिले तिनीहरुको खुद सम्पत्ति मूल्य पनि अंकित मूल्य १० रुपैयाँभन्दा माथि छ।
केही फण्ड योजना हालै बजारमा सूचीकृत भएका छन्। सेयर बजार निरन्तर घटेपछि केही योजनाको खुद सम्पत्ति मूल्य (नेट एसेट भ्यालू) अंकित मूल्य १० रुपैयाँभन्दा तल पनि झरेको छ। अर्थात बजारमै पनि केही योजना १० रुपैयाँभन्दा कममै किन्न पाइने अवस्था अहिले छ।
म्यचुअल फण्ड प्रत्येक्ष सेयर लगानीभन्दा सुरक्षित मानिन्छ। प्राथमिक सेयर निश्कासन गर्नुअघि प्रत्येक कम्पनीले म्युचुअल फण्डका लागि आरक्षण छुट्याउनुपर्ने व्यवस्था छ। जसले गर्दा यी फण्डले पाउने आइपिओ ठूला लगानीकर्ताले पाउनेभन्दा पनि कैयौं गुणा धेरै हुन्छ।
अर्कोतर्फ विज्ञहरुले अध्ययन तथा परामर्श गरेर अन्य इक्वीटीमा पोर्टफोलियो लगानी गर्ने भएकाले सबैतिर लगानी बाँडिन्छ। यसले गर्दा सेयर बजारसम्वन्धी ज्ञान नभएकालाई पनि यस्ता योजनामा लगानी उपयुक्त छ।