समग्र सेयर बजारको परिसूचक ९ अंकले झरे पनि चिलिमे जलविद्युतका लगानीकर्ताले ६. ९ प्रतिशत नाफा कमाएका छन्।
उसको अघिल्लो दिनभन्दा यस दिन प्रतिकित्ता ६२ रुपैयाँले मूल्य बढेको छ। कम्पनीको अगुवाईमा निर्माण भइरहेको मध्यभोटेकोसी आयोजनाको काम २ वर्षभित्र सक्न उर्जा सचिवले निर्देशन दिएपछि लगानीकर्तामा सकारात्मक सन्देश पुगेको हो। त्यस्तै बुटवल पावर कम्पनीका लगानीकर्ताले ५ प्रतिशत नाफा कमाए।
यस दिन कुल १५२ कम्पनीको ३२ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ। चिलिमे, बुटवल पावर लगायत कम्पनीको मूल्य बढेपछि समग्र जलविद्युत उपसूचक उक्लिएको छ। जलविद्युत ५५ तथा अन्य उपसूचक ३ अंकले बढ्दा अरु सबै उपसूचक घटेका छन्।
बैंकिङ ८, होटल २५, विकास बैंक २०, फाइनान्स ९, बिमा ९७ र उत्पादन ४८ अंक तथा माइक्रोफाइनान्स २६ अंकले घटेका छन्।
फरवार्ड माइक्रोफाइनान्सको १ करोड ९३ लाखको कारोबार भयो। कम्पनीले ५० प्रतिशत बोनस तथा १५ प्रतिशत नगद लाभांश दिने भएपछि कारोबार बढको हो। कारोबार बढे पनि मूल्य भने घटेको छ। नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ५२ लाखको सेयर कारोबार भयो। सेन्ट्रल र श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले ६ प्रतिशत बढी गुमाए।