जनता बैंकले तोकिएको चुक्ता पुँजी पुर्याएको छ।
आज सम्पन्न आठौ वार्षिक साधारणसभाले १४ प्रतिशत बोनस स्वीकृत गरेसँगै कम्पनीको चुक्ता पुँजी ८ अर्ब नाघेको हो।
सभाले गत आवको नाफाबाट १ अर्ब ७० लाख रुपैयाँ बराबरको अर्थात चुक्ता पुँजीको १४.४ प्रतिशतले बोनस दिने निर्णय स्वीकृत गरेको हो।
साविकका त्रिवेणी विकास र सिद्धार्थ डेभलपमेण्ट बैंक गाभिएपछिको यो पहिलो साधारणसभा हो। यस साधारणसभाबाट केशबबहादुर रायमाझी, लंड्ढबहादुर के.सी., रामबहादुर भण्डारी संस्थापक समूहबाट संचालक समितिमा चयन भएका छन्। गौतमप्रसाद खनाल, विनितकुमार अग्रवाल र संजिव न्यौपाने सर्वसाधारण समूहबाट संचालक समितिमा छानिएका छन्।
बैंकका ११३ शाखा, २६ शाखा रहित बैंकिङ्ग, ६७ एटिएमहरु संचालनमा छन्। यसै आर्थिक बर्ष भित्र मर्जर पश्चात दोहोरिएका शाखाहरुको स्थानान्तरण तथा थप नयाँ समेत गरी शाखा संजाल १२४ पुर्याउने लक्ष्य बैंकले लिएको छ।
जनताले हाल ५२ अर्ब १७ करोड निक्षेप संकलन तथा ४८ अर्ब ३९ करोड कर्जा विस्तार गरेको छ।