एनआईसी एसिया बैंकको कोष प्रवद्र्धन तथा सहायक कम्पनीको योजना व्यवस्थापनमा एक अर्ब रुपैयाँको म्युचुअल फण्ड माघ २ गतेदेखि निश्कासन हुने भएको छ।
अंकित मूल्य १० का दरले १० करोड इकाईको बिक्री खुल्ला हुने भएको हो। जसमध्ये १५ प्रतिशत अर्थात एक करोड पचास लाख इकाई कोष प्रवद्र्धक एनआइसी एशिया बैंक र क्यापिटललाई सुरक्षित गरिएको छ। बाँकी आठ करोड ५० लाख इकाईमा सर्वसाधारणको सहभागिता रहनेछ। एनआईसी एसिया ग्रोथ फण्ड नामको यो सात बर्षे बन्दमुखी योजना हो।
आस्वा प्रणालीबाट माघ ८ गतेसम्म आवेदन गर्न सकिनेछ । न्यूनतम एक सय इकाईदेखि अधिकतम २० लाख इकाईसम्म आवेदन गर्न सकिने एनआइसी एसिया क्यापिटलले जनाएको छ।
हाल बजारमा ११ वटा म्युचुअल फण्ड सूचीकृत छन्। जसमा एउटाको अवधि परिपक्व भएको छ। त्योबाहेक २ वटा हालै जारी भएका छन्।
एनआइसी एसियाको भने यो पहिलो फण्ड हो। त्यस्तै अर्को सिटिजन्स फण्डले धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ। भने ग्लोबल आइएमई ब्यालेन्स फण्ड र एनआइबिएल सहभागिता फण्ड पाइपलाइनमा छन्।