लगानीयोग्य रकमको अभाव भएपछि राष्ट्र बैंकले बिहीबार पुनः १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउने भएको छ। बैंकले यसअघि दुई चरणमा कुल १५ अर्ब रुपैयाँ पठाएको छ। पहिलो चरणमा ५ र दोस्रो चरणमा १० अर्बको ऋणपत्र खरिद गरी कुल १५ अर्ब बैंकिङ प्रणालीमा पठाइसकिएको छ।
नेपाल राष्ट्र बैंकका सहायक निर्देशक पुश्कर रिजालका अनुसार यसअघि पठाइएका रकममा मागभन्दा बढी आवेदन परेपछि पुनः तेस्रो चरणमा १० अर्ब रकम पठाउन लागिएको हो।
यसअघि पहिलो चरणमा ऋणपत्र खरिदमार्फत राष्ट्र बैंकले ५ अर्ब बैंकिङ प्रणालीमा पठाउन आवेदन माग्दा १९ अर्बको आवेदन परेको उनले जानकारी दिए। रिजालका अनुसार दोस्रो चरणमा १० अर्ब ऋणपत्र खरिदका लागि आवेदन मागिएकोमा २२ अर्ब ६८ करोडको आवेदन परेको थियो।
‘मागभन्दा बढी रकमको आवेदन पर्नुले लगानीयोग्य रकमको अभाव भएको देखाउँछ नै, त्यसकारण सहजताका लागि ऋणपत्र खरिद गरी बैंकहरुमा रकम प्रदान गरिँदै आएको हो’ उनले भने।
बैंक तथा वित्तीय संस्थाहरुले सरकारबाट विकास ऋणपत्र खरिद गर्ने गर्दछन्। सरकारले आवश्यक परेको खण्डमा यस्ता ऋणपत्र बिक्री गरेको हुन्छ भने लगानीयोग्य रकमको अभाव हुँदा पुनः खरिद गरी बैंकिङ प्रणालीमा रकम प्रवाह गरेको हुन्छ। यस्ता ऋणपत्रको न्यूनतम अवधि ९० दिनको रहने गर्दछ।