सेयर बजारको परिसूचक नेप्से बुधबार बीस अंकले झरेको छ। अघिल्ला दुई दिनसम्म बढेको परिसूचक आज २०. ६३ अंकले झरेको छ।
आजको कारोबारपछि परिसूचक १४१६ अंकमा कायम भएको छ।
१५५ कम्पनीको ४४ करोड ५५ लाखको कारोबार भयो। कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ। अघिल्लो दिन ६३ करोडको कारोबार भएको थियो। बजारको पुँजीकरण १६ खर्ब ४८ अर्बमा झरेको छ।
सबै उपसूचकहरु ओर्लिएका छन्। बैंकिङ १६, व्यापार १, होटल २९, विकास बैंक १७, जलविद्युत २६, फाइनान्स ४, बिमा १३४, उत्पादन १, अन्य १९ तथा माइक्रोफाइनान्स उपसूचक २६ अंकले ओर्लिए।
कारोबारका आधारमा नेपाल टेलिकम अग्रस्थानमा रह्यो। कम्पनीको मूल्य घटे पनि ४ करोड ३० लाखको कारोबार भयो। मूल्य प्रतिकित्ता २१ रुपैयाँले घटेर ७६१ कायम भएको छ। स्टान्डर्ड चार्टड तथा प्रभु बैंक पनि कारोबारका आधारमा अगाडि देखिए।
मल्टिपर्पोज फाइनान्सका लगानीकर्ताले ५.६ प्रतिशत कमाए। महिला सहयात्रा माइक्रोफाइनान्सका लगानीकर्ताले ६ प्रतिशत गुमाए।