दोस्रो चरणको प्रदेश तथा प्रतिनिधी सभाको चुनावपछि नेप्से परिसूचक १११ अंकले घटेको छ। २० दिनकै अवधिमा १११ अंकले झरेको नेप्से अझै सम्हालिन सकेको छैन।
चुनावअघि अर्थात मंसिर २० गते १५३६ अंकमा रहेको परिसूचक आज १४२५ अंकमा कायम भएको छ। चुनावपछि मंसिर २६ गते एक दिन परिसूचक बढेको छ भने अन्य सबै दिनमा बजार ओर्लिरहेको छ।
पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष नवराज सुवेदी चुनावपछि क्रमिक रुपमा विभिन्न घटनाक्रम देखिएको र तिनैलाई कारण बनाएर खेल्नेहरु सक्रिय हुँदा असर परेको बताउँछन्। चुनावलगत्तै बजारमा केहीले बाम पार्टीको त्रास देखाएको र पछि भ्याट लाग्ने चर्चाले पनि नेप्से घटाउन टेवा पुगेको उनले बताए।
हाल कर्जामा कडाई हुनु, व्याजदर बढ्नु जस्ता घटनाक्रमले चर्चा पाएपछि ‘आगोमा घिउ’ थपिएजस्तै भएको उनले बताए। यतिबेला सेयर धितोमा बैंकहरुले कर्जा प्रवाहमा कडाई गर्नु तथा व्याजदर उच्च हुँदा बढी असर परेको उनले औंल्याए। ‘सेयर धितोमा कर्जा लिन पनि कठिनाइ छ, अर्कोतिर किन्न चाहनेले पनि घटेको बजारभन्दा बढेको व्याजदर नै हेर्छ’ उनले भने।
बजारमा आपूर्ति बढी हुनु र सोअनुसारको माग सिर्जना हुन नसक्दा धेरै अंकको गिरावट देखिएको उनले बताए। ‘बजार काठमाडौंमा मात्रै केन्द्रित छ, बाहिर केही शहरमा कारोबार भए पनि उल्लेख्य मात्रामा बढ्न सकेको छैन अर्कोतर्फ हकप्रद र बोनसको भारीले आपूर्ति बढ्यो, जसका कारण बजार प्रभावित भयो’ सुवेदीले भने।
यसबीचमा बजार सुधारका लागि कुनै काम र गतिविधि नहुनुले पनि असर परेको उनको बुझाई छ। ‘ब्रोकरलाई मार्जिन लेन्डिङको सुविधा दिने कुरा थियो, त्यो पनि सेलायो, अनलाइन ट्रेडिङको काम त्यस्तै छ, गैरआवासीय नेपालीलाई लगानीको वातावरण बनाउने सम्वन्धमा पनि काम देखिएको छैन जसले बजारलाई एकोहोरो थिचिरह्यो’ उनले भने।
केही दिन बजार घटे पनि अब धेरै दिन त्यसले निरन्तरता नपाउने उनको अनुमान छ। उनी भन्छन् ‘अब धेरै दिन बजार ओर्लिँदैन, घटेपछि बढ्नु बजारको विशेषता नै हो, त्यसकारण केही दिनपछि पुनः उकालो गति बजारले लिनेछ।’
बुधबार परिसूचक २१ अंकले झर्दा पौने अर्बको कारोबारबुधबार सेयर बजारको परिसूचक २१ अंकले झरेको छ। २१.५३ अंकले झरेर नेप्से १४२५ अंकमा कायम भएको छ। समग्र बजारको परिसूचक घट्दा कारोबार रकम भने उल्लेख्य देखिएको छ।
यस दिन ७६ करोड ५७ लाखको सेयर किनबेच भयो। यो रकम अघिल्लो दिनको भन्दा २२ करोड बढी हो। अघिल्लो दिन ५४ करोडको कारोबार भएको थियो।
बुधबार कारोबार सुरु भएको आधा घण्टामै परिसूचक १४४७ बाट १४२२ अंकमा ओर्लियो। त्यसपछि उकालो लाग्दै नेप्से साढे १२ बजेको समयमा १४४३ अंकमा पुगेको थियो। बजार बढ्न सुरु गर्दा लगानीकर्ता किन्न हतारिने र घट्दा बेच्न हतारिने प्रवृत्तिले आज ट्रेण्डमै उथलपुथल देखियो। यद्यपी साढे १२ बजेपछि ओर्लिएको परिसूचक अन्तिम समयसम्म कायम रह्यो।
बजारमा कारोबार बढ्नुले भने लगानीकर्तालाई आशा जगाएको छ। ‘कारोबार बढ्नु भनेको ठूला लगानीकर्ता आउनु हो, बजार घटेका बेला धेरै कारोबार हुनु त्यही संकेत हो’ एक लगानीकर्ताले भने।
आजको कारोबारपछि पुँजी बजारको सम्पत्ति मूल्य अर्थात पुँजीकरण १६ खर्ब ५७ अर्ब कायम भएको छ। यस दिन उत्पादनबाहेकका सबै उपसूचक घटेका छन्। सो उपसूचक ६ अंकले बढ्यो।
बिमा १३६, विकास बैंक २४, जलविद्युत २४, बैंकिङ १७, होटल ५, फाइनान्स ४, अन्य २० र माइक्रोफाइनान्स सूचक २३ अंकले घटे। नेपाल लाइफ इन्स्योरेन्स संस्थापकतर्फको १० करोड ९ लाख रुपैयाँको कारोबार भयो।
स्टान्डर्ड चार्टडको १० करोड ७ लाखको कारोबार भयो भने उसको मूल्य प्रतिकित्ता ५५ रुपैयाँले घटेर १९५५ कायम भएको छ। एभरेष्ट बैंकको ७ करोडको कारोबार भयो। नेपाल टेलिकम, प्रभु, एनसीसी बैंक पनि कारोबारका आधारमा अगाडि देखिए।
बजार घट्दा पनि माहुली सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशतले बढ्यो। अन्य मूल्य बढ्ने कम्पनीको वृद्धिदर ५ प्रतिशतमुनि रह्यो। गुमाउनेमा सिन्धु विकास बैंकका लगानीकर्ता अगाडि रहे। सो कम्पनीको मूल्य ५.६ प्रतिशतले घट्यो। प्रभु बैंकको मूल्य ४.४ प्रतिशतले घट्यो।