सेयर बजार निरन्तरजसो ओर्लिरहँदा नेप्सेले कर्पोरेट बुल रेस आयोजना गर्ने भएको छ।
चुनावपछि एकदिन बाहेक अन्य दिन सेयर बजार ओर्लिरहेको छ। चुनावअघि १५३६ अंकमा रहेको नेप्से आज १४४७ मा कायम भएको छ। यहीबीचमा नेप्सेको २५ औं वार्षिकोत्सव परेपछि पुस २८ गते बुल रेस आयोजना हुने भएको हो।
पुँजी बजारप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना हुने रेसमा सहभागिताका लागि प्रतिनिधि पठाउन नेप्सेले सूचीकृत सबै कम्पनीहरुलाई आग्रह गरेको छ। सहभागी हुनेले प्रतिव्यक्ति ५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।