सेयर बजारको परिसूचक नेप्से मंगलबार २० अंकले झरेको छ। २०. ६४ अंकले झरेसँगै १४४७ अंकमा नेप्से अडेको छ।
अन्यबाहेकका सबै उपसूचक घट्दा समग्र परिसूचकमा ठूलो गिरावट देखिएको हो। बैंकहरुमा लगानीयोग्य रकमको अभाव हुँदै व्याजदर बढेपछि सेयर बजारमा त्यसको असर पर्दै आएको छ।
यस दिन १५९ कम्पनीको ५४ करोड २ लाख रुपैयाँको सेयर कारोबार भयो। बैंकिङ १८, व्यापार ४, होटल २३, विकास बैंक ३६, जलविद्युत ३६, फाइनान्स १६, बिमा १३८, उत्पादन ३० र माइक्रोफाइनान्स उपसूचक ३२ अंकले ओर्लिएका छन्।
कारोबारका आधारमा स्टान्डर्ड चार्टड बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ८ करोड ३३ लाखको कारोबार हुँदा दोस्रोमा रहेको टेलिकमको ६ करोड ९२ लाखको भयो। टेलिकमको मूल्य सामान्य बढेर प्रतिकित्ता ८६० कायम भएको छ। स्टान्डर्डको मूल्य भने प्रतिकित्ता ६७ रुपैयाँले घट्यो।
माहुली सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशतले बढ्यो। अन्य मूल्य बढ्ने कम्पनीको वृद्धि भने २ प्रतिशतमुनि रह्यो। प्रोग्रेसिभ फाइनान्स, संग्रिला विकास बैंक, अरुण फाइनान्स भार्गव विकास बैंकका लगानीकर्ता गुमाउनेमा अगाडि रहे।