नेपाल टेलिकमले सेयर लगानीकर्तालाई प्रतिसेयर ५५ रुपैयाँ लाभांश दिने भएको छ।
कम्पनीले लाभांश वितरणका लागि अर्थ मन्त्रालयको स्वीकृति पाइसकेको छ। आगामी पुस ३० गते कम्पनीको साधारणसभा बस्दैछ। सो सभाले लाभांश पारित गरेपछि लगानीकर्ताले आफूसँग भएको एक कित्ता सेयर बराबर ५५ रुपैयाँ लाभांश पाउने छन्।
टेलिकमले नगद लाभांश मात्रै प्रदान गर्दै आएको छ। कम्पनीको बजारमा सेयर मूल्य प्रतिकित्ता ८६० रुपैयाँको हाराहारीमा छ।
बजारमा सूचीकृतमध्ये यो सबैभन्दा धेरै नाफा कमाउने कम्पनी हो। कम्पनीले गत आर्थिक वर्षमा १५ अर्ब १ करोड खुद नाफा कमाएको थियो।
चालु आवको पहिलो त्रैमासमा उसको नाफा ४ अर्ब ५ करोड छ। प्रतिसेयर आम्दानी १०८ रुपैयाँ छ। जगेडा कोषको आकार ८१ अर्बको छ। कम्पनीमा ९१ प्रतिशत स्वामित्व सरकारको, ४ प्रतिशत सर्वसाधारणको र बाँकी कर्मचारी तथा नागरिक लगानी कोषको छ।