लगानीकर्ता तथा स्टक ब्रोकर एसोसिएसनका पदाधिकारीहरुले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्।
ठूलो राजनीतिक दल भएको अवसरमा ओलीलाई बधाइ दिन पुगेका लगानीकर्ता तथा ब्रोकर एसोसिएसनका पदाधिकारीबीच केही बेर सेयर बजारको गिरावटका सम्वन्धमा छलफल भएको थियो।
सो अवसरमा ओलीले नयाँ सरकार गठन भइसकेपछि बजार स्वतः माथि जाने आश्वासन दिएका थिए। ‘अहिले बामपन्थी सरकार आए बजार ध्वस्त हुन्छ भनेर केहीले हल्ला गर्दा बजार झरेको हो, तर सरकार गठन भइसकेपछि स्वतः माथि जानेछ’ ओलीले भनेको कुरालाई उदृत गर्दै स्टक ब्रोकर एसोसिएसनका एक पदाधिकारीले भने।
बजारमा चलाइएका हल्ला झुट भएको भन्दै उनले ढुक्कका साथ लगानी गर्न आग्रह गरे। आफू पुँजी बजारमा देखिएका समस्या समाधान गर्न प्रतिबद्ध भएर लाग्ने आश्वासन उनले दिएका थिए।
अहिलेको बजारबाट निराश नहुन उनले लगानीकर्ता तथा ब्रोकर एसोसिएसनका पदाधिकारीलाई आश्वासन दिए।
त्यस्तै बजारमा भ्याटको विषयलाई उठाइएको र वित्तीय क्षेत्रअन्तर्गत पर्ने भएकाले यसमा भ्याट उचित नहुने कुरा ओलीलाई ध्यानाकर्षण गराइएको थियो। सो अवसरमा उनले यस सम्वन्धमा आफूले राम्ररी बुझ्ने आश्वासन दिँदै भ्याट बढाउने भन्दा पनि दायरा फराकिलो पार्नतिर ध्यान दिइने बताएका थिए।